NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

गाडीसहित ५७० बोरा युरिया मल छाडेर चालक लापत्ता, साहुजी पनि भेटिएनन्

काठमाडौं । कृषकले बालीनालीमा प्रयोग गर्ने रासायनिक मलको चर्को अभाव छ ।

समयमा पर्याप्त मात्रामा सरकारले रासायनिक मल आपूर्ति नगर्दा किसानले धान, मकैजस्ता मुख्यबाली लगाउँदा नै मल प्राप्त गर्न सकेका छैनन् ।

परिणामतः कृषि उपजको उत्पादन लगातार खुम्चिरहेको छ ।

किसानले चर्को रूपमा रासायनिक मलको अभाव भोगिरहे पनि ५७० बोरा मल ९ महिनादेखि बेवारिसे अवस्थामा छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दलले गत जेठ २४ मा पूर्वी नवलपरासीबाट ना ४ ख ६५०५ नम्बरको गाडीसहित १०० बोरा र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस, प्रगतिनगर नवलपरासीले गत असार २५ गते ना ६ ख ५२६० नम्बरको गाडीसहित ४७० बोरा युरिया मल नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका मलका धनी सम्पर्कमा नआएपछि मल बेवारिसे बनेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले मालवस्तुको स्रोतको प्रमाण नभेटिएका कारण गत जेठ र असारमा सशस्त्र प्रहरीबाट नियन्त्रणमा लिएका ५७० बोरा युरिया मल गाडीसहित नियन्त्रणमा रहेको जनाएको छ ।

४७० बोरा मल आशुतोष कुमार कानू र १०० बोरा मल जेएमसी कृषि फार्म, बर्दघाट, नवलपरासीको भएको खुलेको छ । कानूलाई गत कात्तिक २० र जेएमसीलाई गत माघ ५ गते मालवस्तुको स्रोतको प्रमाणसहित उपस्थित हुन विभागले पत्राचार गरेको थियो । तर यी दुवै पक्ष हालसम्म सम्पर्कमा नआएको विभागले जनाएको छ ।

गाडीसहित नियन्त्रणमा लिइएका युरिया मलका धनी सम्पर्कमा नआएपछि विभागले राजस्व चुहावट एैन, २०५२ अनुसार विभागमा प्रमाणसहित उपस्थित हुन सूचना जारी गरेको छ । अन्तिम पटक यी दुईलाई सात दिनको समय दिइएको र उक्त अवधिभित्र पनि सम्पर्कमा नआएमा कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढ्ने विभागको सूचनामा उल्लेख छ ।