मकवानपुरमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्ध खोप लगाइने
बागमती । मुलुकभरका बालबालिकालाई दादुरा-रुबेलाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत मकवानपुर जिल्लामा ३२ हजार छ सय ६५ लाई खोप लगाउने तयारी पूरा भएको छ ।
नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई यही फागुन १३ गतेदेखि १९ गतेसम्म खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाले आज जनाएको छ । सो खोप अभियानअन्तर्गत पाँच सय २० केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए।
उनका अनुसार जिल्लामा तीन सय ४० स्वास्थ्य स्वयंसेविका परिचालन गरी खोप दिइने छ । लक्षित उमेरका बालबालिकालाई खोप लगाएर दादुरा तथा रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको घिमिरेले बताए ।
सन् २०२६ सम्ममा दादुरा-रुबेला रोग निवारण गर्न सरकारले प्रतिबद्धता गरेको थियो । नेपालभरि गत आर्थिक वर्षमा एक हजार तीन सय ५० मा दादुरा-रुबेला रोग देखिएकामा मकवानपुरमा ४० जना सङ्क्रमित भेटिएको थियो ।
बागमती प्रदेशमा नुवाकोटबाहेक सबै जिल्लामा पूर्ण खोप घोषणा भइसकेको छ । दादुरा–रुबेला खोप नलगाएमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्यूमिनिया हुने इन्सेफलाइटिक्स हुने, कम्पन्न हुने तथा बालबालिकाको मृत्युसमेत हुनसक्ने भएकाले नियमित रुपमा खोप लगाउनुका साथै छुटेका बालबालिकालाई समेत अनिवार्य खोप लगाउनुपर्ने जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
जिल्लामा नियमित खोप कार्यान्वयनमा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका उत्कृष्ट रहेका जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया