बिशेष अदालतद्वारा एकैदिन भ्रष्टाचारमा सात मुद्दाको फैसला

काठमाडौं । बिशेष अदालतले एकैदिन भ्रष्टाचारका ७ मुद्दामा फैसला सुनाएको छ । एउटा मुद्दामा सफाइ र अन्य ६ वटामा ठहरको फैसला भएको छ ।
घुुससम्बन्धि पाँच र नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धि ५ मुद्दाको फैसला भएको हो ।
फैसलाअनुसार ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका नायब निरीक्षक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
बर्दियाको मैनापोखर स्थित ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरीक्षक पवन साउद घुससहित पक्राउ परेका तीन महिनामै अदालतबाट दोषी ठहर भएका छन् । उनी गत १२ मंसिरमा ३० हजार घुससहित पक्राउ परेका थिए । लागू औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । मुद्दा दायर भएको दुई महिनामै बिशेष अदालतले फैसला सुनाएको हो ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २, साडेपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाहले नक्कली प्रमाण–पत्रको मुद्दामा दोषी ठहर भएका छन् । शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल ऐण्ड इण्टरमिडिएट एजुकेशन, यू.पी., राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्र पेश गरेका थिए ।
त्यस्तै, एक लाख रुपैयाँ घुससहित पक्राउ परेका प्रहरी प्रभाग बुढानिलकण्ठका बरिष्ठ हवल्दार विष्णु सिंह पनि दोषी ठहर भएका छन् । उनी गत साउनमा एक लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । बालुवा उत्खननका लागि इन्सपेक्टरसँग सेटिङ मिलाइदिने भन्दै उनले एक लाख घुस लिएका थिए ।
चितवनको कालिका नगरपालिका वडा नम्बर ५ स्थित श्री भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद कडेल नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन् ।
उनले विरेन्द्र क्याम्पस चितवनबाट आइ.एस.सी. उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहु जी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह (बिए) उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको अख्तियारको दाबी थियो । जसमा उनी दोषी ठहर भएका हुन् ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सबदुल मियाँ पनि घुस लेनदेनको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई अख्तियारले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
मियाँले निर्माणाधीन भवनको अन्तिम किस्ता रकम भुक्तानीको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका थिए । गत वर्ष २१ असारमा अख्तियारले मुद्दा दायर गरेको थियो ।
त्यस्तै, ५ हजार घुससहित पक्राउ परेकी चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव–इन्जिनियर विजया लक्ष्मी पन्तको मुद्दामा बिशेषले शुक्रबार फैसला सुनाउँदै दोषी ठहर गरेको हो ।
भवन निर्माण सम्पन्न भएको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग घुस लिदै गर्दा दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको थियो । २२ पुसमा मुद्दा दायर भएको थियो । उनलाई तीन महिना कैद र २५ हजार जरिवानाको फैसला भएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका पदाधिकारीले भने घुस मुद्दामा सफाइ पाएका छन् ।
समितिका पदाधिकारीहरु लक्ष्मण अधिकारी, मोहन प्रसाद कुईकेल र बालुवा डिपो संचालक सुसान्त कुईकेलले गोकर्णेश्वर न.पा.बाट मर्मत तथा निर्माणको काम लिई ठेक्कामा लगाए पश्चात सेवाग्राहीबाट बाटो स्तरउन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस मागेकोमा एक लाख घुससहित पक्राउ परेका थिए ।
उपभोक्ता समितिको नाममा विचौलियाको भूमिकामा काम गरी सेवाग्राहीबाट घुस रकम आरोपित सुसान्त कुईकेललाई पनि आयोगले पक्राउ गरी मुद्दा दायर गरेकोमा सफाइ पाएका छन् ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया