NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

के लेखे आजका पत्रपत्रिकाले ?

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूको प्राथमिकतामा एउटै नभएर विभिन्न विषय परेका छन् ।

कान्तिपुर दैनिकले रुसी सेनामा भर्ती भएका २७२ नेपाली सम्पर्कविहीन बनेको लेखेको छ । आकर्षक तलबको प्रलोभनमा अवैध तरिकाले रुस पुगेका नेपालीहरू परिवारको सम्पर्कमा नआएका हुन् ।

समाचारअनुसार घाइते ११६, काजकिरिया भएका १६ र उद्धारको पर्खाइमा रहेका १२७ जनासहित कुल ५३१ पीडितपरिवार सरकारको सम्पर्कमा आएका छन् ।

मन्त्रिपरिषद्का विवादित मन्त्रीलाई निरन्तरता दिने कि हटाउने भन्नेमा प्रधानमन्त्री अन्योलमा रहेको अर्को खबरलाई पनि कान्तिपुरले निकै प्राथमिकतापूर्वक छापेको छ ।

बालकुमारी घटनामा छानबिन गर्न सरकारद्वारा गठित आयोगले भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीन जनालाई दोषी ठहर गर्दै गत फागुन ४ मा प्रतिवेदन दिएको थियो । तर ज्वाला आबद्ध दल नेकपा एकीकृत समाजवादीले प्रतिवेदनको राम्ररी अध्ययन गरेर मात्र कदम उठाउन भनेपछि प्रधानमन्त्री हच्केका छन् ।

ज्वालासँगै स्वास्थ्य मन्त्री मोहन बस्नेत र पर्यटनमन्त्री सुदन किरातीलगायत पनि विभिन्न विवादमा मुछिएका छन् । विवादित बनेपछि उनीहरूलाई हटाउनु पर्ने मत प्रकट भइरहेका छन् । तर सत्तासाझेदार दलका नेताको असहमतिका बावजुद प्रधानमन्त्री विवादित मन्त्री हटाउनबाट हच्किएको कान्तिपुर समाचारको सार छ ।

‘महिलाको काँधमा काभ्रेका ८ सरकारी कार्यालय’ शीर्षक समाचारलाई कान्तिपुरले एंकर बनाएको छ । समाचारअनुसार, काभ्रेको प्रशासन, प्रहरी, जिल्ला स्वास्थ्य, पशु सेवा, जिल्ला आयुर्वेद, शिक्षा समन्वय, खाद्य प्रविधि, स्वास्थ्य बीमा बोर्डको नेतृत्व यतिबेला महिलाले गरिरहेका छन् ।

नयाँ पत्रिका दैनिकले राज्यको बेरुजुमाथि उत्खनन गरेको छ । समाचारअनुसार राज्यको बेरुजु एकै वर्ष ३० अर्ब पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा साढे ५ प्रतिशतले बढी हो । म्याद नाघेको पेस्की बेरुजु मात्रै २५ अर्ब छ ।

आर्थिक अनुशासन तथा वित्तीय उत्तरदायित्वमा सरकारले जोड दिए पनि त्यसविपरीत बेरुजु भने बढेको बढ्यै छ । पूर्वमहालेखापरीक्षक भानुप्रसाद आचार्यले पेस्की बेरुजु धेरै देखिनुलाई गम्भीर समस्या भएको बताएका छन् ।

रुसी सेनामा भर्ती हुन नजानु भनेर प्रधानसेनापतिले गरेको आग्रहलाई पनि नयाँ पत्रिकाले छापेको छ । त्यस्तै समाजवादी मोर्चाको नेतृत्व विप्लवले सम्हालेपछि त्यो सक्रिय बन्न थालेको, एक लाख फर्जी सवारी लाइसेन्स प्रकरणको छानबिन सुस्त बनेको, पछिल्लो समय बाघ निसानामा पर्न थालेको लगायत खबरलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएर महत्त्वसाथ छापेको छ ।

सरकारी मुखपत्र गोरखापत्र दैनिकमा शिक्षा पदक अलपत्र परेको खबर छ भने नागरिक दैनिकले हात्तीले झापाका स्थानीयलाई दिएको दुःखबारे सोधीखोजी गरेको छ ।

 

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष