NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

प्रहरीको हिरासतमा पुस्तकालय अभियान

काठमाडौं । नेपाल प्रहरीले ‘हिरासतमा पुस्तकालय’ अभियान सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी कार्ययोजना, २०८० अन्तर्गत नवप्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप फौजदारी कसुरको अनुसन्धान गर्ने प्रत्येक प्रहरी कार्यालयहरूले हिरासत पुस्तकालयको व्यवस्था गर्ने प्रावधान अनुसार अभियान सञ्चालन गरिएको हो । विभिन्न मुद्दाको अनुसन्धान प्रक्रियाको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा पक्राउ परेका व्यक्तिहरूमा सकारात्मक सोचको विकास गर्ने उद्देश्य अभियानको रहेको छ । छोटो समयमा नै अभियान प्रभावकारी हुँदै गएको प्रहरी प्रवक्ता डिआइजी भिम प्रसाद ढकालले बताए ।

हालसम्म नेपाल प्रहरीका २२१ वटा मुद्धा चल्ने कार्यालयमध्ये २०० कार्यालयमा हिरासत पुस्तकालय अभियान सुचारू भएको छ । ती मध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत १९ वटा, कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३८ वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३५ वटा, बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत २३ वटा, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १५ वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३७ वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत १३ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत २० वटा छन् ।

पुस्तकालयमा विभिन्न विधाका उपन्यास, कथा, कविता, निबन्ध, धार्मिक ग्रन्थ, कानुन, सामान्यज्ञानको साथै विभिन्न व्यक्तिका जीवन संघर्ष, जेल जीवन, राजनीतिक विचार, सिद्धान्त, व्यावसायिक सीप, उत्प्रेरणा, सकारात्मक सोचका विषयमा लेखिएका पुस्तकहरू रहेका छन् । दैनिक जीवनमा आइपर्ने समस्या र समाधानका विषय समेटिएका पुस्तक पनि राखिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता ढकाल भन्छन्, “म आफै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको प्रमुख रहँदा प्रदेश प्रहरी र मातहत कार्यालयहरूमा अभियानको थालनी गरेको हुँ । हिरासतमा रहेकाहरूलाई समय कटाउन सजिलो होस् भन्ने अभिप्राय छ । उनीहरूलाई पढाइमा सहभागी गराई असल नागरिक बन्न उत्प्रेरित गर्ने उद्देश्य हो । त्यसको साथै उनीहरूमा सकारात्मक सोचको विकास र मनोविज्ञानमा परिवर्तन आउने विश्वास रहेको छ । उनीहरूमा हिरासतको समयलाई समेत उत्पादनशील र अध्ययन तथा ज्ञानवर्धक शिक्षामा सहयोग गर्न यसले सहयोग पुर्यानउने अपेक्षा छ ।“

पुस्तकालयलाई स्वेच्छिक रुपमा पनि पुस्तक प्राप्त हुने गरेको छ । प्राप्त पुस्तक व्यवस्थित तरीकाले राखिन्छ । प्रहरी हिरासतमा रहेकाहरूले लिएको पुस्तक भरपाइ गरी पढ्न दिने, पढिसकेपछि फर्काउने र अर्को पुस्तक पढ्न पाउने व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा पुस्तकालय स्थापनाको अनुभव सुनाउँदै कार्यालयका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधान भन्छन्, “थुनुवाको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने प्रकृतिका पुस्तक राख्न हामीले विशेष पहल गरी सोही अनुसारका प्रेरणादायी पुस्तकहरू राखेका छौं ।“ थुनामा रहेकाहरूले पुस्तकालयबाट लाभ लिइरहेको र आन्तरिक कार्यविधि बनाएर पढ्ने व्यवस्था मिलाइएको उहाँको भनाई छ ।

पुस्तकालयले थुनुवामा अध्ययन अभिरूचि जगाउन र अध्ययनप्रति लगाव बढाउन सहयोग पुर्यााएको छ । अध्ययनबाट आफ्नो आचरण, व्यवहार र सोचमा सकारात्मक धारणा बनाउन सहयोग पुगेको छ । शिक्षाले मात्रै मानिसलाई चेतनशील बनाउँछ भन्ने तथ्य सावित गराएको छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन् “प्रहरीको यो अभियानलाई अझ प्रभावकारी बनाउन नागरिक समाज, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्थाको अहम् भूमिका रहने गर्दछ । पुस्तकालयका लागि आवश्यक पर्ने पुस्तकहरू संकलनमा सबैको हातेमालोको अपेक्षा गरिएको छ । कारागारमा होस् वा हिरासतमा रहँदा मनोविज्ञान बदल्ने खालका महत्त्वपूर्ण पुस्तक पढेपछि रुपान्तरण आउने हुनाले सोही अनुसारका पुस्तक राख्ने गरिएको छ ।“

यसैगरी हालसम्म ७२ वटा कारागारहरूमा समेत पुस्तकालयहरू सञ्चालनमा छन् । ती मध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत ३ वटा, कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १४ वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत ५ वटा, बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत १० वटा, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १० वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १३ वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ९ वटा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष