NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते
सफलता कथा

‘अपांगता’ले नरोकिएको गंगाको उद्यम यात्रा

५ हजारको लगानीबाट थालेकी थिइन्, अहिले कमाउँछिन् महिनामै डेढ लाख

काठमाडौं । मानिसका लागि कुनै घटना जीवनकै टर्निङ प्वाइन्ट बनिदिन्छन् । गार्मेन्टबारे कसैले दिएको सानो ‘क्लू’ ले गंगा छन्त्याल, ३७ को जीवनमै नयाँ मोड ल्याइदियो । कुनै समय जागिरका लागि भौतारिँदै शहर चहारेकी उनी अहिले जीवनको त्यही टर्निङ प्वाइन्टपछि भेटिएको सफलताले अरूलाई जागिर दिने हैसियतमा उक्लिएकी छन् ।

‘विगतमा यसरी गार्मेन्ट उद्योगी बन्छु र सफलता हासिल होला भनेर सोचेको पनि थिइनँ,’ अपांगताको तगारो पन्छाएर व्यावसायिक उडान भरेकी गंगा प्रसन्न मुद्रामा सुनिइन्, ‘तर एउटा जानकारीले मेरो जीवनको दिशा नै बदलियो ।’

गंगाको जीवनको दिशा मात्र नभएर दशा बदलिनुको कथा भने लामो छ । सन्तानका हिसाबले गंगा परिवारकी जेठी । हाम्रो समाजमा ज्येष्ठ सन्तानको काँधमा स्वभावैले बढी दायित्व आइपर्छ । गंगासामु पनि भाइ, बहिनी र बाबुआमालाई हेर्ने जिम्वेवारी थियो । गंगा चाहन्थिन्, धेरै पढ्ने र त्यसकै आलोकमा जीवनमा बुनेका सपनाको उडान भर्ने । तर परिस्थितिको दास बनेकी उनलाई सोचेअनुरूप जीवनको रथ अघि बढाउन सहज थिएन । नियतिले उनलाई ‘म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो’ भनेजस्तै बनाएको थियो । पारिवारिक दायित्वले पढ्ने योजनालाई थाती राखेर कामलाई प्राथमिकता दिनुपर्ने बाध्यता आइलाग्यो । प्लस टू पछि जागिरको खोजीमा उनी निक्कै भौतारिइन् । आफ्नो अपांगता भएको शरीर बोकेर उनी कहिले सहरको पूर्व कुना पुग्थिन् त कहिले पश्चिम । जागिरका लागि अनुनय विनय गर्दै बायोडाटा छाड्थिन् । कसैले आश्वासनको गुलियो लड्डु दिएर पछि बेवास्ता गर्थे, कतिले शारीरिक अपांगतालाई देखाएर हतार र निराश पारी पठाइदिन्थे ।

‘जागिरको खोजीमा विभिन्न संघसंस्थामा कति धाए कति, सरकारी अफिसहरूमा चिया पकाउने, कुच्चो लगाउने काम भए पनि देऊ भनेर बिन्ती बिसाएँ । तर कसैले पत्याएन,’ मलिन अनुहार पार्दै स्मृति तटमा कहिल्यै विस्मृत नहुने गरी गढेर बसेको विगत गंगाले सम्झिइन् । काम गर्न सक्षम हुँदा–हुँदै अशुद्ध नेपाली लबज र शारीरिक अपांगताका कारण विगतमा आफू त्यसरी सबैतिरबाट उपेक्षित हुन परेको गंगाको एकसरो बुझाइ छ ।

जागिरका लागि पुगेजति सबै ठाउँबाट अस्वीकार हुँदा उनको जीवनमा वेचैनी त बढेको थियो नै घोर निराशाले उत्तिकै शिथिल बनाएको छ । तर उनले किञ्चित हरेस खाइनन् । बरू उनमा अभाव, समस्या र अस्वीकृतिले विराट आत्मविश्वास जगाइदियो, अब आफैं केही गर्छु । स्वरोजगार हुने उत्कट आकांक्षा र सोचको पहिलो उपज थियो, रक्सी पसल । तर यसले उनको आफैं केही गर्ने अठोटमा धक्का लाग्यो । त्यसले अपेक्षाकृत गति लिन सकेन । भट्टी पसलमा लामो समयसम्म जाँड रक्सी खाएर होहल्ला गर्ने, गलत नजरले हेर्ने, बोल्ने गर्न थालेपछि गंगालाई लाग्यो, यो मैले गर्ने काम होइन रहेछ ।

जागिरका लागि आफ्नो अपांग शरीर घसारेर गंगा काठमाडौंका गल्ली गल्ली भौतारिन्थिन् । कहिले कुन कार्यालय पुग्थिन् त कहिले कुन । सबैबाट एउटै जवाफ पाउँथिन्-नो । हिजो सिर्फ एक थान जागिरमा कतैबाट नपत्याइएकी गंगा पीडा, अपमान र अस्वीकृतिलाई ऊर्जामा बदलेर अहिले सफल उद्यमी मात्र भएकी छैनन्, विगतमा आफूजस्तै नियतिमा रहेका डेढ दर्जनलाई रोजगारी दिन सफल भएकी छन्

रक्सी पसल त छाडिन् तर अन्योल र अनिश्चियको विगतको बादलले उनलाई छाडेन । गंगा केही नगरी चुप बस्नेवाला थिइनन् । विवाहपछि थपिएको पारिवारिक दायित्वले पनि उनलाई केही नगरी बस्न छुट थिएन । जीवनमा हिँड्नु मात्रै थिएन, दौडनु पनि थियो गंगालाई । तर गर्ने के ? सोचका बारीहरू सुख्खा थिए ।

त्यतिबेला भर्खर–भर्खर पठाओ सुुरु भएको थियो । उनकै साथीबाट उनले चाल पाइन्, यसबाट राम्रो आम्दानी गर्न सकिन्छ रे । सीमित विकल्पले निम्छरो बनेकी उनका लागि त्यो ढुंगा खोज्दा देउवा मिलेजस्तै भयो । तर यो उनका लागि सहज छँदै थिएन । पहिलो त, त्यतिबेला उनीसँग डेढ वर्षको छोरा थिए, अर्को उनी आफैं अपांगता भएको व्यक्ति थिइन् । तर जब मानिस बाध्यता र विवशताले निरीह बन्छ, उसका लागि बाधा र अवरोधहरू मामुली बन्ने रहेछन् । नभए, गंगा बिहान ८ बजेदेखि राति ११ बजेसम्म चारपांग्रे स्कुटरको पछाडि यात्री राखेर घरी पूर्व र घरी पश्चिम किन दौडदिहुन् ?

गंगाका अनुसार, अरूभन्दा फरक अर्थात् चार पाँग्रे स्कुटर दौडाउँदा महिनामै त्यस्तै ३५ हजारसम्म कमाइ हुन्थ्यो । यो नराम्रो कमाइ थिएन । तर त्यहाँ पनि अपांगता भएकै कारण समस्या झेल्नुपर्यो गंगाले । ‘राति अबेरसम्म बस्दा जाँडरक्सी खाएका मान्छेहरू आउने, चार पांग्रे स्कुटर देखेपछि नचढ्ने, मोबाइल स्वीच्ड अफ गरेर हिँड्दिने, रातिराति फोन गरेर सताउनेजस्ता गतिविधि हुन थाले,’ गंगाले पठाओ चलाउँदा भोग्नुपरेका समस्याको बेलिविस्तार लगाइन् ।

हरेक काम शारीरिक अपांगताकै कारण छाड्नु पर्दा मन हतास थियो । तर उनले हिम्मत हारिनन् । त्यही बेला कतैबाट उनले गार्मेन्टसम्बन्धी तालिमबारे थाहा पाइन् । प्रक्रिया पूरा गरेर तालिममा सहभागी भएकी उनले लगत्तै न्युरोडस्थित रञ्जना होलसेलरसँग सम्पर्क गरेर पिसमा कपडा मगाइन् । सुरुमा यसमा उनले गरेको लगानी मात्रै पाँच हजार रूपैयाँ थियो । बच्चाहरूको टिर्सट बनाउने, त्यसलाई लगनखेलमा लगेर बेच्ने उनको दैनिकी थियो ।

पछि उनलाई लाग्यो, अब यसरी हुँदैन, व्यवसाय विस्तार गर्नुपर्छ । पखेटा हालेर उडान भर्नुपर्छ । यस्तै सोच मनमा आएपछि नै हो, उनले व्यवसाय विस्तार गरेकी । पछाडि फर्खिएर हेर्दा अहिले गंगालाई त्यसबेला निशाना सही ठाउँमै लागेको महसुस हुन्छ । नभए ५ हजारबाट थालेको व्यवसायको लगानी १५ लाख हाराहारी पुग्ने थिएन । उनलाई सबैभन्दा सन्तोष लाग्ने कुरा, आंशिक र पूर्णकालीन गरी १२ जनालाई आफ्नो गार्मेन्ट उद्योगमा उनले रोजगारी दिएकी छन् । ०७८ सालमा दर्ता भएर सञ्चालनमा आएको गंगाको युनिक सेवा गार्मेन्टले अहिले मासिक डेढ लाखसम्म कमाइ गर्छ । गार्मेन्ट उद्योगबाट भएको मुनाफाले प्रसन्न गंगा उद्योग ट्रेड मार्क लिने प्रक्रियामा मात्रै छैनन्, छुट्टै ब्राण्ड बनाएर गाउँ सहरमा छाउने दाउमा छिन् । गंगाले राखेको आफ्नो ब्राण्डको नाम छ, स्यामो । स्यामो झट्ट सुन्दा बुझिँदैन । गंगाका अनुसार, यो छन्त्याल भाषाबाट आएको शब्द हो । यसको अर्थ हुन्छ, धन्यवाद । यही स्यामो ब्राण्डमार्फत बजारमा आउने तयारीमा रहे पनि त्यसका लागि अझै एक वर्ष लाग्ने उनको हिसाब छ ।

स्यामो ब्राण्ड ग्राहकसमक्ष पुग्न एक वर्ष लागे पनि गंगाले ब्रान्डिङको लागि उनले पूर्वतयारी थालिसकेकी छन् । त्यसका लागि विभिन्न खेलकुदलगायतका कार्यक्रमहरूमा स्पोन्सर गरिरहेको उनी बताउँछिन् । हाल उनको गार्मेन्टमा फेन्सी कपडा, झोला, हस्पिटलको बेडसिट, स्टाफले लगाउने ड्रेस, टिर्सटलगायत सिलाइसम्बन्धी सबै खालका सामान उत्पादन हुन्छन् ।

आँट र जाँगर नै सबैभन्दा ठूलो शक्ति

परिवारमा कसैले नअपनाएको व्यवसाय अहिले गंगा गर्दैछिन् । व्यवसायका क्रममा थुप्रै चुनौती अगाडि आउनुको कारण गंगालाई यही लाग्छ । शारीरीक अपंगताले यसमा अझै असहजता थपेको उनको अनुभव छ ।

‘हाम्रो परिवारमा सात पुस्ताले नअपनाएको पेशा हो यो । छन्त्यालहरूको मुख्य पेशा तामाखानी खन्ने र त्यसैबाट जीविकोपार्जन गर्ने हो । सरकारले तामाखानी खन्ने काम रोकेपछि छन्त्याल जाति कृषि पेशामा लागे र कोही विदेश पलायन भए,’ आफ्नो जातिको पेशाबारे सुनाउँदै उनले भनिन् ।

गार्मेन्ट सुरु गर्नुभन्दा अगाडि उनले परिवारसँग सल्लाह मागेकी पनि हुन् । उनले आशा गरेकी थिइन्, अनुमति पाइएला । तर सबैले रातो बत्ती बालिदिए । ‘मेरा सक्षम छोराछोरीले गरेको व्यवसाय त डुब्छ यो अपंगता भएकी छोरीले व्यवसाय गरेर के सफल होला ? भनेर परिवारले मेरो काममा हौसला दिनुको साटो झन् निराशा बनाइदिनुभयो,’ गंगा नोस्टाल्जिक भइन् ।

गार्मेन्टमा लगानी थप्दा पनि उत्तिकै समस्या झेलेको गंगाको अनुभव छ । कर्जाको भरपर्दो माध्यम बैंक भएकाले उनी सहयोग माग्दै धेरै पटक धाइन् । तर त्यहाँबाट पनि निराशाबाहेक केही हात नलागेको गंगा बताउँछिन् । ‘बैंकमा कर्जा लिँदा धितो चाहिँदो रहेछ, आर्थिक स्थिति कमजोर भएकाले कहाँबाट धितो राख्ने ? परिवारसँग जग्गा धितो राख्छु भन्दा मान्नुभएन, बैंक पनि हामीजस्ताका लागि हैन रहेछ,’ उनले कर्जा लिन परेको अप्ठ्यारो साझा गरिन् ।

कतैबाट आर्थिक सहयोग नजुटेपछि उनी अन्ततः पठाओ चलाउने निचोडमा पुगेकी थिइन् । उनले व्यवसायमा गरेको लगानी त्यही पठाओबाट आर्जन गरेको पाँच हजार हो ।

आफूसँग पुँजी नभए पनि दिमाग लगाएर काम गरेमा कुनै पनि काम असफल नहुने उनको निचोड छ ।

समस्या सोचमा

गंगाले थालेको गार्मेन्ट उद्योग अहिले धराशायीप्रायः छ । कैयन् परिस्थितिजन्य समस्यामा टिक्न नसकेर पलायन भइसकेका छन् भने केही पलयान हुने स्थितिमा छन् । गंगा गार्मेन्ट उद्योग धरासयी बन्नुको मूल कारण नेपालीको सोच ठान्छिन् । उनका अनुसार, नेपालीले नै नेपाली प्रडक्ट नरुचाउने समस्या गहिरो छ । नेपाली प्रडक्ट भनेपछि नाक खुम्च्याउने, कम गुणस्तर हुन्छ भन्ने जस्ता सोच नेपालीले पाल्ने गरेको गंगाको अनुभव छ ।

०७८ सालमा दर्ता भएर सञ्चालनमा आएको गंगाको युनिक सेवा गार्मेन्टले अहिले मासिक डेढ लाखसम्म कमाइ गर्छ । गार्मेन्ट उद्योगबाट भएको मुनाफाले प्रसन्न गंगा उद्योग ट्रेड मार्क लिने प्रक्रियामा मात्रै छैनन्, छुट्टै ब्राण्ड बनाएर गाउँ सहरमा छाउने दाउमा छिन् । गंगाले राखेको आफ्नो ब्राण्डको नाम छ, स्यामो । स्यामो झट्ट सुन्दा बुझिँदैन । गंगाका अनुसार, यो छन्त्याल भाषाबाट आएको शब्द हो । यसको अर्थ हुन्छ, धन्यवाद । यही स्यामो ब्राण्डमार्फत बजारमा आउने तयारीमा रहे पनि त्यसका लागि अझै एक वर्ष लाग्ने उनको हिसाब छ ।

‘मेड इन नेपाल’ भन्नेबित्तिकै नेपालीहरू नाक खुम्च्याउँछन्, नेपालीले बनाएको कपडा राम्रो हुँदैन भन्ने सोच्छन् । त्यहीँ नेपाली सामानलाई मेड इन चाइना ट्याग लगाएर बेच्यो भने ‘आहा’ भनेर लगाइरहेको हुन्छन्, नेपाली उत्पादनप्रति नेपालीको सोच नै नकारात्मक छ,’ उद्यमसँगै नेपाली उत्पादनको प्रवर्द्धनमा लागेकी गंगा विरक्त सुनिइन् ।

उनका अनुसार, नेपाली गार्मेन्ट उद्योगलाई अर्को समस्याचाहिँ चिनियाँ कपडाले पारेको छ । नेपालमा कपडा उत्पादन हुँदा कपडाको लागि चाहिने कच्चा पदार्थ विदेशबाटै आउँछ, भन्सार कर तिर्दा, बनाउँदा मूल्य अलिकति बढी हुन जान्छ, तर नेपाली उत्पादन विदेशीभन्दा बढी गुणस्तर हुने गरेको उनी बताउँछिन् ।
गार्मेन्ट उद्योग फस्टाउने अवस्था सिर्जना गर्न के गर्नुपर्छ त ?

नेपालवाच प्रतिनिधिको प्रश्न भुइँमा खस्न नपाउँदै गंगा बोलिन्, नीतिमा परिमार्जन गर्नुपर्छ । सरकारले गार्मेन्टमैत्री नीति बनाएको खण्डमा यो व्यवसायले गति पक्डने गंगाको ठम्याइ छ ।

‘आयात निरुत्साहन गरेर नेपाली उत्पादनलाई प्रोत्साहन गरे नेपालमै गार्मेन्टको भविष्य छ,’ उनी भन्छिन्, ‘बाहिरबाट आउने सामान पुरै रूपमा नसकेपनि आवश्यकताभन्दा बढी सामान भित्र्याउन नदिने र नेपालीहरूलाई स्वदेशी उत्पादनमा जोड दिने हो भने नेपालमा गार्मेन्ट उद्योग माथि उठ्न सक्छ ।

नेपालमा गार्मेन्ट उद्योगलाई राम्रो गर्न सकेको खण्डमा यसले एकातिर नेपाललाई धनी बनाउँछ, अर्कोतिर युवाहरूले रोजगार पाउँछन् ।’

गंगाको विचारमा अर्को चुनौती समाजमा आफैं केही गर्न खोज्ने अपांगता भएका व्यक्तिहरूलाई हेर्ने नजरीया हो । त्यसको प्रत्यक्ष भुक्तभोगी आफू बनेको उनी बताउँछिन् ।

‘यस्तो व्यक्तिले बनाएको चीज के गतिलो होला ? लिनु र ? भन्ने मानसिकता मानिसहरूमा छ । यसले मार्केट टिकाउन गाह्रो हुँदो रहेछ,’ उनले दुःखेसो गरिन् ।

अपांगता भएकाहरूलाई समाजले अरूलाई जस्तै समान दृष्टिकोणले हेरिदिओस् भन्ने उनको चाहना छ । सरकारी नीति, नियममा पनि अपांगता भएकाहरूको सवाल पर्याप्त ढंगले सम्बोधन नगरिएको बुझाइ उनको छ ।

उद्यमले नाम, दाम दुवै दिएको छ

आफूले गरेको काममा सन्तुष्ट छिन्, गंगा । कुनै दिन कोठा भाडासमेत तिर्न नसकेर घरबेटीले निकाल्ने अवस्थामा पुगेकी उनी फुरुक्क छिन्, संघर्षबाट प्राप्त सफलताले । ‘आज उद्यम खोलेर केहीलाई रोजगारीसमेत दिन सक्नु जस्तो सन्तुष्टिका कुरा मेरा लागि अरू के नै हुन सक्छ र ?,’ प्रसन्न मुद्रामा गंगा बोलिन् ।

संघर्षकाल र व्यवसायमा सफल भएपछि समाजले हेर्न आफूप्रतिको दृष्टिकोणमा नै फरकपना आएको गंगाको अनुभव छ । ‘म हिजो घरभाडा तिर्न नसकेर कोठाबाट निकालेको व्यक्ति हुँ, तर त्यतिबेला समाज मेरो आपतविपतमा खडा भएन, उल्टै मलाई नै समाजले नराम्रो भन्यो,’ उनले भनिन्, ‘आज त्यही समाजले मलाई राम्रो मान्छ, यसअर्थमा आर्थिक पक्ष महत्त्वपूर्ण रहेछ भनेर बुझको छु ।’

विद्यालयले दिएको कहर

बागलुङको नरजाहानीमा ०४३ सालमा जन्मिएकी गंगा जन्मिँदा खुट्टामा कुनै समस्या थिएन । तर दुर्गम गाउँमा जन्मिएकाले पोलियो थोपा खानुपर्छ भन्ने ज्ञानसमेत उनको परिवारमा थिएन । स्वास्थ्य संस्थाहरू पनि नजिक थिएनन् । पोलियो थोपा खान नपाएपछि उनको कम्मरभन्दा मुनितिर राम्रोसँग नचल्ने समस्या आयो । धामीझाँक्रीमा बढी विश्वास गर्ने समय थियो त्यो । गंगालाई पनि बुवाआमाले त्यही लगे । तर झारफुकबाट उनको शारीरिक अपांगता कसरी दूर हुन्थ्यो र ?
अपांगता भएकाले सानैदेखि परिवार गंगाको भविष्यप्रति चिन्तित थिए । यसले काम गरेर खान सक्दैन भनेर आमाले आफ्नो पढाइमा जोड दिएको गंगा बताउँछिन् । तर उनले पढ्ने स्कुल अपांगमैत्री थिएन । त्यसमाथि उनी डेढ घण्टा लगाएर स्कुल जानुपथ्र्यो र अपांगमैत्री स्कुल नहुँदा र अपांगता भएकाहरूप्रति गरिने गलत व्यवहारले दुःखी हुन्थिन् । यही कारण एसएलसीसम्ममा सात पटकभन्दा बढी स्कुल परिवर्तन गर्नुपरेको तीतो अनुभव उनीसँग छ ।

जति स्कुल परिवर्तन गरे पनि उनका समस्या ज्यूका त्यूँ नै रहन्थे । अन्ततः गंगाको परिवार छोरीको भविष्य उज्याउनै लागि गाउँबाट सहर झरे । काठमाडौंमा आएर उनको परिवार सानो किराना पसल राखेर बस्न थाले, तर परिवार पाल्न गाह्रो भयो । त्यसपछि केही सहज हुने आशामा चिया पसल सञ्चालन गरे । गंगा त्यही नजिकैको मानसिंह धर्म सेकेन्डरी स्कुलमा भर्ना भइन् । त्यहाँ पनि अन्यमा जस्तै पढ्ने वातावरण फिटिक्कै थिएन । साथीहरूले जिस्काउने, छिःछिः र दूरदूर गर्न थाले ।

पछि गंगाकी आमाले अपांगता भएकाहरूका लागि खोलिएको जोरपाटीमा रहेको खगेन्द्र नवजीवन स्कुलबारे थाहा पाइन् । गंगालाई त्यही लगेर कक्षा सातमा भर्ना गरियो । कथा अलग तर पीडा एकै थिए, सबैका । आफूजस्तै र आफूभन्दा पनि कमजोर शारीरीक अपांगता भएकाहरूसँग गंगाले पढ्ने अवसर पाइन् । त्यसपछि जीवनबारेको आफ्नो दृष्टिकोण नै परिवर्तन भएको उनको बुझाइ छ । त्यहाँ सबै आफूजस्तै भएकाले एकअर्काको भावना बुझ्ने साथी उनले पाइन् । सबै आफूजस्तै भएकाले पढ्न सहज भएको उनको अनुभव छ । अध्ययन गर्ने चाहना हुँदाहुँदै पनि प्लस टूबाट अघि बढाउन सकिनन् । यसमा उनलाई पछुतो र विस्मात छ ।

सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय

उद्योग व्यवसायमा मात्रै होइन सामाजिक कार्यमा समेत सक्रिय छिन्, गंगा । यसतर्फ लाग्न एउटा ‘इन्सिडेन्ट’ले गंगालाई अझै प्रेरित ग–यो । ०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गयो । धेरैको जस्तै गंगाको बास पनि टहरामा भयो । गोंगबुको टहरामा शारीरिक अपांगता भएका धेरै दिदीबहिनीहरू उनीसँग जोडिए । यसक्रममा तिनका पीडा उनले अझैबाट नियाल्ने मौका पाइन् ।

अपांगता भएका दिदीबहिनीले झेलेका समस्या अनगिन्ती थिए । त्यो दृश्यले गंगालाई तिनका लागि केही गर्नुपर्ने सोच पलायो । निड वान अपांगता भएका व्यक्तिको सहायताका लागि गंगा र उनका समूहले खोलेको त्यस्तै संस्था हो ।

संस्थामा आबद्ध भएर काम गर्ने क्रममा गंगाले अपांगता भएका धेरै दिदीबहिनी जागिरबाट वञ्चित भएको थाहा पाइन् । त्यहाँबाट नै उनले उद्योग सञ्चालन गरेर केही हदसम्म रोजगार दिने सोचिसकेकी थिइन् ।

अपांगता भएकाहरूलाई सीप सिकाउने र काम दिने ठाउँ अपांगमैत्री बनाउन नसक्दा उनको योजनाले अहिलेसम्म मूर्ताकार लिन भने सकेको छैन । तर आफू चुनौतीबीच निरन्तर यसलाई आकार दिन लागिपरेको उनी बताउँछिन् ।

गंगाले संस्थामा र संस्थाबाहिर रहेर अपांगता भएका महिलाहरूको विशेषगरी रोजगारीका लागि पहल गरिरहेकी छन् । अपांगता भएका महिलाहरूकै लागि केही गर्छु भनेर महिला उद्यमी महासंघमा समेत सामेल छिन् ।

विभिन्न संघसंस्थामा आबद्ध भएर काम गर्ने क्रममा उनले अपांगता भएका महिलाहरू रोजगारीको सिलसिलामा यौन हिंसामा पर्ने गरेको अर्को तथ्यसमेत थाहा पाएकी छन् । अपांगता र गरिबीको फाइदा उठाइ धेरै महिलाहरूलाई यौन हिंसा गरेको उनको भनाइ छ । ‘कसैले जागिर दिन्छु भनेर त कसैले कोठाभाडा तिर्दिन्छु भनेर यौन हिंसा भइरहको छ । मेरा धेरै साथीहरू मासिक कोठा भाडा तिर्न र एक गाँस खानाको लागि यौन हिंसामा परेको घटना छ,’ अपांगता भएका महिलाले झेलेका थेगिनसक्नुको हिंसाको फेहरिस्त सुनाउँदै उनले भनिन् ।

आर्थिक स्थिति कमजोर भएपछि विभिन्न समस्याको सिकार हुनुपर्ने अनुुभव सुनाउँदै उनी सबैभन्दा पहिले महिलाहरू आर्थिक रूपमा सबल हुनुपर्नेमा जोड दिन्छिन् । गंगाको अबको मूल ध्येय अपांगता भएका महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनु छ ।