NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

चितवनमा आज सबै शीर्ष नेतालाई निम्तो, ओली पनि जाने

काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरू आज चितवनमा एकै मञ्चमा देखिने भएका छन् । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री  प्रचण्ड आफूसँगको गठबन्धन छाडेर कांग्रेसतिर लहसिएपछि चिढिएका केपी शर्मा ओली पनि सोही पार्टीबाट मेयरमा निर्वाचित रेनु दाहालको निमन्त्रण स्वीकार गरेर  त्यसतर्फ जाँदै छन् ।

भरतपुर महानगरपालिकाले सञ्चालन गर्न लागेको ‘भरतपुर भ्रमण वर्ष–२०२४’को उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू, दलका शीर्ष नेता, सातै प्रदेशका मुख्यमन्त्रीलगायत राजनीतिक व्यक्तित्व चितवन जान लागेका हुन् ।

कार्यक्रममा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार नै चितवन पुगिसकेका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत नेता आज त्यसतर्फ जाँदैछन् ।

कार्यक्रमको उद्घाटन नारायणी नदी किनारामाप प्रधानमन्त्री प्रचण्डले गर्दैछन् ।

आफ्नो क्षेत्रभित्र पर्यटक भित्राएर पर्यटकीय क्षेत्रको पहिचान गराउने उद्देश्यले भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउन लागेको हो ।

मेघौली, पटिहानी, ज्ञानेश्वर ब्लक, बीसहजार ताल, नारायणीबीच भरतपुरका मुख्य पर्यटकीय क्षेत्र हुन् ।

ओली जाँदा राजनीतिक तरंग

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा प्रधानमन्त्री प्रचण्डको छोरीसमेत रहेकी चितवनकी मेयर रेनु दाहालको निम्तो स्वीकार गरेर कार्यक्रममा सहभागी हुँदैछन् ।

माओवादीसँग गठबन्धन टुटेपछि चिढिएका ओली रेनुको निम्तो स्वीकार गरेर चितवन जान लागेका हुन् । माओवादीसँग गठबन्धन टुटेपछि ओलीले सो पार्टी निकटकाको निम्तो स्वीकार गरेको सम्भवतः यो पहिलो हो । हेर्दा सामान्य लागे पनि राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ । जानकारहरू ओलीको चितवन जाने कार्यक्रम अर्थपूर्ण भएको बताउँछन् ।

पछिल्लो समय कांग्रेस–माओवादी गठबन्धनमा खटपटको संकेत देखिएको छ । राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने भद्र सहमति विगतमा भएको बताइए पनि अहिले माओवादीले त्यसमा दाबी प्रस्तुत गरेको छ । कांग्रेस र माओवादीबीच विमति बाक्लिँदै जाँदा उता दूरीमा रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको संवाद सघन बन्दै जान थालेको छ । यसैलाई विश्लेषण गरेर देशको राजनीतिले नयाँ मोड लिने लख काटिएका बेला ओली चितवन जान तयार भएका हुन् ।

एक राजनीतिक विश्लेषक ओली चितवन जान तयार हुनुले माओवादी र एमाले नजिकिएको र कुनै पनि बेला गठबन्धनमा जोडिन सक्ने संकेत गरेको बताउँछन् ।

‘यो सरसर्ती हेर्दा सामान्य हो । तर यसले जुनसुकै बेला एमाले–माओवादी एक ठाउँमा आउन सक्ने संकेत गरेको छ,’ उनले भने ।

ताजा अपडेट

नेपालवाच विशेष