NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप सुरु

महोत्तरी । दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप यहाँ सुरु भएको छ । जिल्लाका छ नगरपालिका र दुई गाउँपालिकासहित आठ स्थानीय तहका खोप केन्द्रमा आज दोस्रो चरणको खोप सुरु भएको हो ।

यस चरणमा बर्दिबास, गौशाला, औरही, रामगोपालपुर, भङ्गाहा र बलवा नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिका छन् । यसअघि यही फागुन १३ गतेदेखि सोमबारसम्म पहिलो चरणमा सात स्थानीय तहमा दादुरा र रुबेलाविरुद्धको खोप सञ्चालन गरिएको थियो ।

सो चरणमा जिल्ला सदरमुकाम जलेश्वरसहित लोहारपट्टि, मटिहानी र मनराशिशवा नगरपालिका तथा पिपरा, महोत्तरी र एकडारा गाउँपालिका सामेल रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

दादुरा रुबेला खोप नौ महिनादेखि १५ वर्ष उमेर समूहबीच दिइँदै छ । यो उमेर समूहका जिल्लामा दुई लाख ३० हजार नौ सय ८७ बालबालिका छन् । दुई चरणमा जनशक्ति खटाएर सञ्चालित अभियानमा सबैलाई खोप सेवा पु¥याउने लक्ष्य साथ काम गरिएको कार्यालयका प्रमुख स्वास्थ्य प्रशासक सुनिता गुप्ताको भनाइ छ ।

यसपालि महोत्तरीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको तयारी छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटा स्थानीय तहमा दादुरा रुबेला खोप अभियानसँगै जिल्लालाई पूर्ण खोपयुक्त घोषणाको तयारीसाथ अभियान अघि बढेको स्वास्थ्य कार्यालयले जनाएको हो ।

जिल्लाका दुई स्थानीय तह पूर्ण खोपयुक्त घोषणा हुन बाँकी छन् । यसपालि अहिले जारी दादुरा रुबेला खोप अभियानलाई सबैको पहुँचमा पु¥याएर जिल्लालाई पूर्ण खोपयुक्त घोषणाको तयारीसाथ अभियान अघि बढाइएको स्वास्थ्य कार्यालयका प्रमुख स्वास्थ्य प्रशासक गुप्ताले बताए । जारी खोप अभियानमा दुवै चरणमा गरी नौ सय २४ खोप केन्द्र व्यवस्थित गरिएको छ ।

यसैगरी, अभियानको खोप सञ्चालन गर्न एक हजार आठ सय ४८ दक्ष स्वास्थ्यकर्मी र दुई हजार सात ७२ स्वयंसेवकसहित चार हजार छ सय २० जनशक्ति विन्यास गरिएको कार्यालयले जनाएको छ । खोप अभियानको प्रभावकारिताका लागि अतिरिक्त जनशक्ति व्यवस्थापन, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र सम्बद्ध स्थानीय तहबाट समन्वय तथा अनुगमनको प्रबन्ध मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसपालिको दादुरा रुबेला खोप अभियानको प्रभावकारिताले अन्य खोप सेवाको पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने हुँदा कार्यालयले यस अभियानमा सरिक हुन र सहयोग पु-याउन सबै राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा जनप्रतिनिधिमूलक निकायका प्रतिनिधिसहित आम जनसमुदायमा अपिल गरेको छ ।