NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

फर्मा एक्स्पोले चितवनका बजार चलायमान, भित्रियो ११ करोड बढी

चितवन नेपाल औषधि व्यवसायी संघले चितवनमा आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले यहाँको बजार चलायमान बनाएको छ । स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ताले यहाँको पर्यटनसँगै आर्थिक चलायमान बनाएको हो ।

संघका अध्यक्ष महेश प्रधानले एक्स्पोका लागि भरतपुरमा तीन हजार हाराहारी आयोजक र प्रदर्शक बाहिरी जिल्ला र विदेशबाट आएको बताए । उनका अनुसार नेपालका सबै औषधि उद्योग, तिनका बजार प्रतिनिधिलगायत भरतपुरमा आएका छन् । यसैरी नौ देशका प्रदर्शक र कतिपय देशका अवलोकनकर्ता समेत यहाँ आएका छन् ।

संघका उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालका अनुसार एक्स्पोका कारण दुई हजार हाराहारी होटलका कोठा बुक भएका छन् । होटलमा मात्रै तीन हजारभन्दा बढीले रु छ करोड हाराहारी खर्च गर्ने उनको भनाइ छ । उनले भने, ‘एक्स्पोमा आउनेले एक्स्पो मात्रै हेर्दैन, यहाँका पर्यटकीय ठाउँको पनि भ्रमण गरेका छन्, खानपान र रमाइलोमा पनि खर्च भएको छ ।’

एक्स्पो सम्पन्न गर्न रु तीन करोड हाराहारी खर्च हुने बरालको अनुमान छ । यसका अतिरिक्त प्रदर्शकले आफ्नो स्टल साजसज्जालगायत अस्थायी कामका लागि पनि रु दुई करोड हाराहारी खर्च गरेको उहाँको अनुमान छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटा एक्स्पोले यहाँको पर्यटन क्षेत्रमा राम्रो प्रभाव पारेको बताउछन् । उनले भने, “एक्स्पोको अवधिमा चितवनमा कोठा पाउनै मुस्किल थियो ।” यहाँ आएका आयोजक, प्रदर्शक र अवलोकनकर्ताले चितवनका पर्यटकीय ठाउँकोसमेत अवलोकन गरेको भन्दै भरतपुर भ्रमण वर्षलाई यसले ठूलो सहयोग पुगेको रुङ्गटाको भनाइ छ ।

यही फागुन २५ गतेदेखि सञ्चालन भइ आज समापन हुने एक्स्पोमा एक सय ६० वटा स्टल राखिएका छन् । नेपाल, भारत, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, जर्मन, चीनलगायत नौ देशले औषधि उत्पादनमा प्रयोग गर्ने मेसिन–उपकरण, प्रयोगशाला, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएका छन् । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइएको छ ।