काभ्रेका पाँच सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’
काभ्रेपलाञ्चोक । खानेपानी, सरसफाइ एवं पर्यावरणीय स्वच्छता मापदण्डका दश सूचक पूरा गरेका काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाको पाँच सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ विद्यालयका रूपमा परिचित भएका छन् ।
गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा सञ्चालित ‘भविष्यको लागि आधार’ परियोजनाअन्तर्गत सूचक पूरा गर्ने ती विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गरिएको छ ।
‘थ्री स्टार’द्वारा परिचित विद्यालय माध्यमिकस्तरका हुन् । ती विद्यालयमा गाउँपालिकाको ५ नं वडास्थित अरनिको मावि र जागृति मावि, वडा नं ३ को बुद्ध हिमालय मावि, वडा नं ५ को सिर्जनाशील जनता मावि, वडा नं ६ को प्रभा मावि रहेका छन् । यी विद्यालयलाई थ्री स्टार बनाउन वाटरएड र सिविक फोरम नामका संस्थाले सघाएका थिए ।
पाँचै विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताका १० मापदण्डअन्तर्गत स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, स्वच्छ र हरियाली वातावरण, खानाको स्वच्छता, स्वास्थ्य स्वच्छताको सुविधा, छात्रा–महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता पूरा गरेका हुन् । यी १० सूचक पूरा गरेपछि तीनतारा घोषणा गरिएको फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले जानकारी दिए ।
उनका अनुसार सबै विद्यालयमा खानेपानी र सरसफाइको सुविधा एवं स्वच्छ वातावरणको विकास तथा प्रवर्द्धन गरी विद्यार्थीको स्वास्थ्य स्थितिमा सुधार ल्याई सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरमा सुधार्न आवश्यक छ । नेपालको संविधानमा मौलिक हकको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित, दिगो विकास लक्ष्य (एसडिजी) को ४ र ६ नं अन्तर्गत सबै विद्यालयमा सुरक्षित र व्यवस्थित खानेपानी, सरसफाइ र स्वच्छताको प्रावधान हुनुपर्ने गरी सूचकहरू तोकिएको छ ।
यस्तै विद्यालय क्षेत्र विकास योजना (२०७३–२०८०) ले पनि गुणस्तरीय शिक्षाका लागि स्वास्थ्य तथा पोषण ‘अवयव’अन्तर्गत विद्यालयमा स्वच्छ खानेपानी व्यवस्थापन, सरसफाइको सुविधा र स्वच्छ वातावरणको आवश्यकतालाई महत्त्वपूर्ण पक्षका रूपमा उल्लेख गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया