NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

बागलुङ । बागलुङका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ ।

ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरिरहेको छ । आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर बनाउनेतर्फ कृषि ज्ञान केन्द्र सक्रिय बनेको छ ।

पछिल्लो समय बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । आलु खेती गर्दा बाँझो जमिन प्रयोगमा आउने हुँदा आलु खेतीको क्षेत्र विस्तार थालिएको हो । निर्वाहमुखी खेती गर्दै आएकोमा अब व्यावसायिक रुपमा गरिने भएको हो । कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई उन्नत जातका आलुको बिउ उपलब्ध गराउन थालिएको छ । खाएन (खानका लागि) र बिउका लागि गरी दुई थरि आलु कृषि ज्ञान केन्द्रले किसानलाई वितरण गरिरहेको छ ।

बागलुङलाई आलुमा आत्मनिर्भर बनाई किसानलाई आयआर्जनसँग जोड्न यस वर्ष आलु खेतीको क्षेत्र विस्तार गरिएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार मगरले जानकारी दिए । उनका अनुसार १५० हेक्टर क्षेत्रफलमा खाएन र बिउ आलु लगाइने छ । बिउका लागि ढोरपाटन र ताराखोलाको आलु तथा खाएनका लागि काभ्रेबाट आलु लिएर वितरण गरिएको पुन मगरको भनाइ छ ।

१३९ हेक्टरमा खाएन र १० हेक्टरमा ‘बिउ आलु’ लागाइने उनले बताए । जिल्ला भरका किसानलाई दुई लाख २२ हजार २०० किलो आलु वितरण गर्ने तयारी रहेको पुन मगर बताउँछन् । हालसम्म ७४ वटा कृषि समुह तथा सहकारीले सम्झौता गरेका छन् ।