गर्मी बढेपछि तराई मधेसको जनजीवन प्रभावित
धनुषा । अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई–मधेसको जनजीवन प्रभावित भएको छ ।
एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो । गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ । अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ ।
प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको बताए । डा दासले भने, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ ।
यसले दिउँसोका समयमा दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई समस्या हुने देखिन्छ । त्यसैले सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्न जरूरी छ ।” अहिले तातो हावाका कारण टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता स्वास्थ्य समस्यासमेत बढ्दै गएका छन् । यस्तै, तातो हावा चल्दा तरकारी, मकैलगायतका बालीनालीसमेत सुक्न थालेका छन् ।
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका रामदेव बनरैतले तातो हावाहुरीका कारण मौसमी फल आँप, लिची र लहरे तरकारीखेती प्रभावित भएका बताए। गर्मीले जनजीवन प्रभावित भए पनि चिसो पेयपदार्थको माग भने बढेको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया