कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त
काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज आउँदै छन् । उनको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ ।
उक्त संरचना मातहत विभिन्न सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । विशिष्ट पाहुनाका स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक्षा संयन्त्र परिचालन गरिएको नेपाली सेनाले जनाएको छ ।
कतारी अमिरको भ्रमणका सिलसिलामा विभिन्न तयारी बैठक समेत गरी कार्य जिम्मेवारी बाडँफाँट गरिएको छ । सरकारले जारी गरेको विशिष्ट व्यक्ति शान्ति सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा व्यवस्थापन चुस्त तुल्याइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए ।
कतारी अमिरको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी उनको आगमन र प्रस्थानका समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य सबै उडान १५/१५ मिनेट स्थगित गरिने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
कतारका अमिरको आजदेखि हुने भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक हुन लागेको यो उच्चस्तरको भ्रमणमा हो ।
पश्चिम एसियाको महत्वपूर्ण शक्ति राष्ट्रका प्रमुखको भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेपालको वैदेशिक श्रम गन्तव्यमध्ये कतार एक महत्वपूर्ण देश हो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया