चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
हेटौँडा । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन् ।
अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन् ।
बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नहुँदा उपकरण थन्काउन बाध्य भएको उनको भनाइ छ । उनले भने, “मुटुरोग विशेषज्ञका लागि अस्पतालले खुलाएको विज्ञापनमा जम्मा एक जना चिकित्सको फाराम प¥यो तर उहाँको उमेरको योग्यता नपुगेकाले नियुक्ति दिन प्रदेशको कार्यविधिले रोक्यो ।”
अस्पतालको स्तरोन्नतिसँगै विभिन्न सङ्घसंस्थाले उपलब्ध गराएको उपकरण सञ्चालनमा ल्याउन नपाउँदा दुःख लागेको उनको भनाइ छ । हाल स्त्रीरोग विशेषज्ञ सेवाको कारण मधेस प्रदेशबाटसमेत सुत्केरी हुन आउनेको सङ्ख्यामा वृद्धि भइरहेको सदस्य चौलागाईंको भनाइ छ ।
यसबाहेक अस्पतालमा हाडजोर्नी, छालारोग, आईसियु, एचडियुलगायतका सेवा उपलब्ध रहेको उनले जानकारी दिए । अब मुटुरोग र सर्जनका लागि भने अस्पताल सञ्चालक समिति प्रयासरत रहेको उनको भनाइ छ ।
रोटरी क्लब अफ मकवानपुरको समन्वयमा करिब आठ महिनाअघि मुटुरोगसम्वन्धी करिब रु एक करोड लागतको उपकरण उपलब्ध गराइएको रोटरी क्लब अफ मकवानपुरको वर्ष २०२४/२५ का अध्यक्ष अनिल अग्रवालले बताए । उनले मुटुका रोगीलाई हेटौँडामा नै परीक्षण र उपचारमा सहज होस् भनेर उपकरण प्रदान गरिएको बताए ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीधर अर्यालले अस्पतालमा मुटुको परीक्षणको व्यवस्था चाँडै मिलाइने बताए । उनले जनशक्ति अभावमा कतिपय उपकरण चाहेर पनि उपयोग गर्न नसकिएको उल्लेख गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया