NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी । महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन् । गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिङ्गर भिजेका कारण केही समयसम्म डढेलोका घटनामा कमी आए पनि चर्को गर्मी बढेसँगै फेरि डढेलोका घटना बढ्न थालेका हुन् ।

अहिले पूर्वपश्चिम राजमार्गपर्ने जिल्लाको १८ किलोमिटर दूरीको दायाँबायाँ क्षेत्रमा जताततै धुवाँको मुस्लो देखिन्छ । चैत दोस्रो साताअघिसम्म राजमार्गको दक्षिणतर्फ बढी देखिने डढेलो अहिले भने उत्तरतर्फको राष्ट्रिय वनक्षेत्रमा पनि फैलिएको स्थानीयले बताएका छन् ।

बर्दिबास नगरपालिका–१० खयरमाराका प्रेमध्वज लामाले सर्लाहीसँग जोडिएको बाँके नदीवारीको राष्ट्रिय वनक्षेत्रमा पछिल्ला तीन दिनयता बढेको डढेलोले नजिकका बस्तीसमेत जोखिममा बताए ।

पछिल्ला तीन दिनयता सागरनाथ वन विकास परियोजनाको बर्दिवास–८ हात्तीलेट प्लट र राष्ट्रिय वनक्षेत्रको बाँके जङ्गलमा डढेलो बढेको उनले जानकारी दिए। “बस्ती नजिकैको वनमा डढेलो छ, जतिखेर पनि आगोको लप्काले भेटाउँछ कि भन्ने त्रास छ । त्यसैले केही दिनदेखि निदाउन पनि सकिएको छैन”, लामा भन्छन् , “राजमार्ग उत्तर र दक्षिण दुवैतर्फ गरी वनसँग जोडिएका २० भन्दाबढी बस्तीका बासिन्दा अहिले त्रासमा छौँ ।”

वन डढेलो बस्तीमा पस्नेमात्रै होइन नीलगाई, दुम्सी र हरिणसहितका वन्यजन्तु बस्तीमा पसेपछि दोहोरो त्रास बढेको बदिवास–१ की गृहिणी दीपा काफ्लेको भनाइ छ ।

“वन क्षेत्र नजिकका बस्तीमा बाँदरको आतङ्क बढेपछि खेतबारीको अन्नपात, घर र आँगनका थाङ्रामा राखिएका मकै तथा अन्य खानेकुरा जोगाउनै हैरान छ । अन्य वन्यजन्तुले पनि त्यस्तै दुःख दिएका छन्”, काफ्लेले गुनासो गरे ।

गौशाला नगरपालिका–८ बेलगाछीका सामाजिक अभियन्ता मीन रहपालले डढेलोले बर्सेनी बहुमूल्य काठमा नोक्सानी हुनुका साथै बस्तीमा समेत क्षति प-याउँदै आएकाले डढेलो नियन्त्रणका लागि ठोस् योजना निर्माण र जानीजानी डढेलो लगाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राख्छन् ।

डिभिजन वन कार्यालय महोत्तरीका वन अधिकृत सन्तोष झाले वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण र त्यसको जोखम बस्तीमा पर्न नदिन प्रयत्न गरिरहेका बताए ।