म्याग्दीमा औलो उन्मूलन
म्याग्दी । म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई दशकअघिसम्म औलो रोग महामारीका रुपमा रहेको थियो । सरकारले नेपाललाई सन् २०२५ सम्म औलो उन्मूलन राष्ट्र बनाउने लक्ष्य राखेको छ ।
पछिल्लो तीन वर्षयता औलाका रोगी फेला नपरेकाले औलो उन्मूलन भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए । “मापदण्डअनुसार म्याग्दीमा वार्षिक एक हजार चार सय जनामा लक्षण देखिएका बिरामीको औलो परीक्षण गरिँदै आएको छ”, उनले भने, “पछिल्लो तीन वर्षयता औलोका बिरामी नभेटिएकाले औलो उन्मूलन भएको घोषणा गर्न सकिने आधार बनेको छ ।”
सचेतनामूलक कार्यक्रम, समुदायस्तरमा सावधानी, उपचारमा पहुँच वृद्धि, स्वास्थ्यचौकी तहमा परीक्षण गरी औलोका बिरामी पहिचान गर्न थालेपछि औलो उन्मूलन हुन थालेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताए ।
उनका अनुसार गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा २६, २०७८/७९ मा १३ र २०७७/७८ मा १२ जना औलोका बिरामी भेटिएका थिए । उनीहरु सबै आयातित औलोका बिरामी हुन् । विदेश अथवा जोखिमयुक्त ठाउँबाट आएका व्यक्तिलाई ४५ दिनभित्र देखिने औलोलाई आयातित र एकै ठाउँमा रहेका व्यक्तिमा देखिने औलोलाई स्थानीय भन्ने गरिएको छ ।
तापक्रम वृद्धिको असर, विदेशी मुलुकमा हुने आवतजावत, पर्यटक, जोखिमयुक्त ठाउँमा यातायात सम्बन्ध आदिका कारणले आयातित औलोको जोखिम रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र सापकोटाले बताए । “औलोको जोखिम रहेको भारतका धेरै नागरिक तीर्थयात्रीका रुपमा म्याग्दी र मुस्ताङ आउने भएको हुँदा उनीहरुसँगै आयातित औलो भित्र्ने जोखिम छ”, उनले भने, “शङ्कास्पद बिरामीको परीक्षण र अभिलेख व्यवस्थापनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन आवश्यक छ ।”
ज्वरो आउने, कमजोरी हुँदै जाने, एक दिन बिराएर वा दुई दिनमा ज्वरो आउने, जाडो भएजस्तो हुने, सिरक ओढ्दा तत्काल पसिना आउने आदि औलोका लक्षण हुन् ।
फाल्सीफोरम परजीवीका कारण हुने औलोमा इन्सेफ्लाइटिस या मेनेन्जाइटिसको जस्तो दिमागमा असर गर्ने र मिर्गौलामा असर गर्ने हुँदा पिसाबमा रगत मिसिएर आउन सक्छ ।
औलोबाट बच्नका लागि घरभित्र लामखुट्टे मार्ने औषधि छर्कने, झुल लगाएर मात्र सुत्ने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरिदिने या पानी जम्न नदिने, घरवरपर सरसफाइ राख्ने, घरमा कसैलाई औलो लागेको छ र अरुलाई पनि लक्षण देखिएमा तत्काल जाँच गराउन चिकित्सकले आग्रह गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया