NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

इलाम–२ मा रास्वपा कन्तबिजोगका ५ कारण

काठमाडौं । एमाले नेता तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम-२ मा शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना अहिले चलिरहेको छ । जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायम गरिरहँदा उनलाई कांग्रेसका डम्बर खड्काले पछ्याइरहेका छन् । प्रारम्भमा खड्काले लिड गरेकोमा उनलाई पछि धकेलेर त्यहाँ सुहाङ निरन्तर अघि लागिरहेका छन् ।

निर्वाचनपूर्व रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरिए पनि मतगणनाको प्रारम्भिक रुझानमा उनी निकै कमजोर देखिएका छन् । यो सामग्री तयार पार्दा उनी निकै कम मतका साथ चौथो स्थानमा संघर्ष गरिरहेका छन् । मुढा चुनाव चिह्न लिएर मैदानमा उत्रिएका डकेन्द्रसिंह थेगिम मतगणनामा ५ हजार ७५३ मतका साथ तेस्रो स्थानमा रहँदा लिम्बूले मात्रै १ हजार ४५१ मत बटुल्न सकेका छन् ।

उपनिर्वाचनपूर्व गरिएका चुनावी विश्लेषणमा यो क्षेत्रमा एमाले र कांग्रेस उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा भए पनि तेस्रो स्थानमा रास्वपा आउने र मुढा चिह्न लिएर मैदानमा खडा भएका थेगिमले त्यसपछिको पोजिसन लिने आकलन थियो । तर रास्वपा अनुमान गरिएभन्दा निकै कमजोर देखिएको छ । रास्वपाले यो क्षेत्रमा अपेक्षित मत हासिल गर्न नसक्नुका केही कारणहरू छन् ।

परम्परागत दलको पकड क्षेत्र

इलाममा परम्परागत दल नेपाली कांग्रेस र एमालेको राम्रो पकड छ । यो क्षेत्रबाट लामो समयदेखि एमालेले जित हासिल गर्दै गएको छ । गत निर्वाचनमा मात्र नभएर अघिल्ला निर्वाचनमा पनि यो क्षेत्रबाट नेकपा एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेको देशव्यापी कन्तबिजोग भए पनि इलाममा सुवासचन्द्र नेम्वाङले जित निकालेर बीउ जोगाएका थिए ।

देशका अन्य क्षेत्रमा पुराना दलका मतदाता नयाँ वैकल्पिक राजनीतिक शक्तिसँग आकर्षित देखिए पनि यहाँका मतदाताले भरोसा गर्न सकेको देखिँदैन । इलाम–२ को अहिलेसम्मको मतगणनाको रुझानले पनि यही संकेत गरेको छ ।

ग्रामीण इलाका

०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले चामत्कारिक नतिजा निकालेको थियो । उक्त निर्वाचनमा दुर्गम र विकट ग्रामीण इलाकामा रास्वपाप्रतिको आकर्षण कम देखिएको थियो भने परम्परागत दल एमाले र कांग्रेसप्रति बढी देखिएको थियो । विवेकशील मतदाता बढी रहने सहरी र सुगम क्षेत्रमा चाहिँ यसको ठीक उल्टो रास्वपाप्रति आकर्षण देखिएको थियो ।

इलाम–२ मा अहिले ग्रामीण इलाकाबाट मतगणना सुरु गरिएको छ । आकर्षण कम भएको क्षेत्रबाट मतगणना सुरु हुँदा आफ्ना उम्मेदवारलाई कम मत परेको र सहरी क्षेत्रमा प्रवेश गरेपछि अवस्था सुधारिने रास्वपाको नेता तथा शुभेच्छुकको विश्वास छ ।

रास्वपा उम्मेदवारको अभिव्यक्ति

रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बू प्रारम्भमा स्वतन्त्र उम्मेदवार बन्ने मुडमा थिए । इलाम–२ को चुनावी मैदानमा खडा १९ उम्मेदवारमध्ये सबैभन्दा पहिले उम्मेदवारी घोषणा गर्ने उनी नै थिए । एमाले, कांग्रेसलगायतका दलभित्र उम्मेदवार कसलाई बनाउने भन्ने गलफती चल्दै गर्दा उनी भोट भाग्दै जनताको घरदैलोमा पुगिसकेका थिए ।

प्रारम्भमा उनीप्रति केही आकर्षणसमेत देखिएको थियो । रास्वपाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेर मैदानमा उत्रिसकेका उग्र पहिचानवादी लिम्बूलाई आफूतिर तानेर उम्मेदवारी घोषणा गर्नुको कारण पनि यही थियो ।

रास्वपाबाट उम्मेदवारी दिनुपूर्व लिम्बूले ‘रास्वपा पनि पुरानो दलजस्तै देखिएकाले त्यहाँबाट उम्मेदवार हुने सम्भावना नरहेको’ देखि पहिचानविरोधी मतदाता भड्काउने नश्लीय अभिव्यक्तिसम्म दिएका थिए । जसले उनको परिचय अपरिपक्व र उग्र पहिचानवादीको बन्न पुग्यो । जुन मतदाता आकर्षित गर्नका लागि प्रत्युत्पादक बन्न पुग्यो ।

रास्वपा सभापतिमाथि उठेका प्रश्न

रवि लामिछानेलाई केही वर्षदेखि विवादले छाडेको छैन । त्यसो त उनले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना विवादकै बीच गरेका हुन् । रास्वपा स्थापनापछि उनी एकपछि अर्को विवादमा थप फस्दै गएका छन् । नागरिकता र राहदानी प्रकरणमा अदालतको आदेशबाट मन्त्री, सांसद र दलको सभापति गुमाएका उनी उपनिर्वाचनबाट पुनः सांसद बनेर सत्तारोहण गर्न सफल भए । तर त्यसपछि पनि उनलाई विवादले पछ्याउन छाडेको छैन । राजनीतिमा आउनुपूर्व आबद्ध ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राई सहकारी ठगी प्रकरणमा उनीसमेत तानिएका छन् । यो प्रकरणमा रवि प्रत्यक्ष संलग्न रहेको अहिलेसम्म प्रमाणित भएको छैन । तर यसप्रति स्वतन्त्र छानबिन नहुँदा उनीप्रति जनमानसमा संशय चुलिएको छ ।

पुराना राजनीतिक दलको असन्तुष्टिको फाइदा उठाउँदै संसदमा चौथो शक्तिशाली हैसियत बनाएको रास्वपा दोस्रो पटक रवि लामिछानेकै नेतृत्वमा सत्तायात्रामा छ । रवि स्वयं उपप्रधान तथा गृहमन्त्रीमा विराजमान छन् । रास्वपा दोस्रो पटक सम्मानजनक भूमिका लिएर सरकारमा सामेल भए पनि रास्वपाका मन्त्रीहरूले खासै उल्लेख्य काम गर्न सकेका छैनन् । रवि लामिछाने स्वयंले पनि गृहमा दोहोरिएपछि सुन प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई नियन्त्रणमा लिने बाहेक अरू केही गर्न सकेका छैनन् । बरू उनी प्रहरी संगठनको सरुवा–बढुवामा हाबी भएर हस्तक्षेप गर्न उद्यत देखिएका छन् । सुन तस्करी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने भनेर सुरुमा प्रतिबद्धता जनाएकोमा त्यसमा पनि उनले रहस्यमय मौनता साँधिरहेका छन् । यसले रास्वपा पनि पुरानै दलजस्तै हो भन्ने सन्देश गएको र त्यसको असर इलाम–२ को उपनिर्वाचनमा परेको हुनसक्छ ।

स्वतन्त्र उम्मेदवारको लोकप्रियता

इलाम–२ मा डकेन्द्रसिंह थेगिमले राम्रो मत पाइरहेका छन् । पहिलो स्थानमा रहेका सुहाङले १० हजार ४११ मत हासिल गर्दा थेगिमले पाएको मत ५ हजार ७५३ छ ।

स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिएका थेगिमले प्राप्त गरेको मत सम्मानजनक हो । उनले पाएको मत हेर्दा पहिचानवादी र विवेकशील मतदाता उनीप्रति आकर्षित भएको देखिन्छ । पहिचानवादी र विवेकशील मतदाता लिम्बूप्रति आश्वस्त हुन नसक्नु पनि रास्वपाको मत सम्मानजनक ढंगले नआउनुको अर्को कारण देखिन्छ ।