खानेपानीको गुणस्तर जाँच गरिँदै
खजुरा । परम्परागत धाराबाट खानेपानी प्रयोग गरिरहेका कोहलपुर नगरपालिका–६ रझेना गाउँमा खानेपानीको गुणस्तर जाँच गर्न थालिएको छ ।
गाउँमै पानी परीक्षण शिविर राखेर खानेपानीको गुणस्तर जाँच गर्न थालिएको कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले बताए । उनका अनुसार कोहलपुरवासीलाई स्वच्छ र सफा खानेपानी पुर्याउन स्थानीय सरकारले विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर काम गरिरहेको छ ।
“प्रदेश र सङ्घीय सरकारले पनि अहिलेदेखि नै यस विषयमा ध्यान दिनुपर्दछ, गर्मी समयमा कोहलपुरमा पानी आउन छाडिसक्यो, खानेपानीको माग बढ्दै जाँदा केही समयपछि खानेपानीको समस्या धेरै हुनसक्छ”, नगरप्रमुख आचार्यले भने, “यसको समाधानका लागि अहिलेदेखि नै सबै लागेका हौँ ।” ‘समयमै खानेपानी परीक्षण गराऔँ, पानीजन्य सरुवा रोग लाग्नबाट बचौँ र बचाऔँ’ भन्ने नाराका साथै शिविरको आयोजना गरिएको उनले जानकारी दिए ।
रझेनामा कोहलपुर बृहत् सहरी खानेपानीको पहुँच नपुगेकाले हाल स्थानीयले इनार, ट्युबेललगायतको पानी खाने गरेका वडाध्यक्ष श्रीकृष्ण थारूले बताए । बुधबारदेखि सुरु भएको शिविरको पहिलो दिन ६४ घरको खानेपानीको नमूना सङ्कलन गरिएको बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव गोविन्द वाग्लेले जानकारी दिए । उनका अनुसार दुई सयवटा खानेपानीका नमूना सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।
“रभेना गाउँबाट लिइएको खानेपानीका १५/१६ प्रकारका परीक्षण हुनेछन्”, वाग्लेले भने, “अहिलेलाई पहिला खानेपानीका नमूना सङ्कलन गरिरहेका छौँ । त्यसको रिपोर्ट केही दिनमा आउँछ ।”
उनका अनुसार शिविरबाट सङ्कलन गरिएका खानेपानीको नमूनामा टिडिएस, कडापन, इसी, एमोनिया, क्यालिसियम, पिएच, धमिलोपना, क्लोराइड, नाइट्रेट इ–कोली, आर्सेनिक, तापक्रम, फोस्फेट, फलाम, कालीफर्मलगायत परीक्षण गरिनेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया