अत्याधिक गर्मीले छाला रोगका बिरामी बढे
नेपालगञ्ज । बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् ।
गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।
अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा बद्री चापागाईँले जानकारी दिए ।
उनले गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उल्लेख गर्दै यसबाट बच्न व्यक्तिगत रूपमा सरसफाइमा ध्यान दिन आग्रह गरे ।
उनले छालामा जथाभावी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न आग्रह गर्दै गर्मीयाममा चर्को घाम र गर्मीबाट बच्न सुझाव दिए। बाँकेस्थित साइनिङ अस्पताल, (आइएनएफ) का अनुसार एक महिनाको अवधिमा करिब एक हजार छालाका बिरामीको जाँच भएको छ ।
साइनिङ अस्पताल (आइएनएफ) का कुष्ठरोग प्रमुख मङ्गल थारूले केही शङ्कास्पद (कुष्ठरोग) बाहेक अधिकांश छाला चिलाउने, दाद र लुतोलगायतका छालाका बिरामी आइरहेको बताए । उनले भने, “बिरामी आइरहेका छन् र उपचारपछि घर फर्केका छन् ।” जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ र नेपालगञ्ज उपमहानगरपालिकाबाट छालाका बिरामी अस्पताल आउने गरेको बताइएको छ ।
प्रमुख थारूले गर्मी बढेपछि छालाका बिरामी आउने क्रम पनि बढेको उल्लेख गर्दै अवस्था हेरेर जाँच गरिएको बताए । चिकित्सकका अनुसार खासगरी गर्मीयाममा नै छालाका रोगका बिरामी बृद्धि हुने गर्दछ । नेपालगञ्जमा दिनअघि यहाँको तापक्रम ४४ दशमल दुई डिग्री सेल्सियससम्म पुगेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया