तिलौराकोट क्षेत्रका ३३ घरजग्गा खाली गर्न सरकारको उर्दी

काठमाडौं । कपिलवस्तु जिल्लाको तिलौराकोट क्षेत्रका ३३ घरजग्गा आगामी असार मसान्तभित्र खाली गर्न पुरातत्व विभागले उर्दी जारी गरेको छ । पुरातात्विक महत्त्व बोकेको कपिलवस्तु नगरपालिका–३ का ३३ घर मुआब्जा दिइसक्दासमेत खाली नभएपछि खाली नभएपछि विभागले अन्तिम पटक मौका दिएको हो ।
युनेस्कोको सम्भावित विश्व सम्पदा सूचीमा रहेको तिलौराकोट वरिपरिको जमिनमुनि पुरातात्विक महत्वका संरचना रहेको पाइएपछि त्यसको संरक्षण तथा अनुसन्धानका लागि विभागले आर्थिक वर्ष ०७२/७३ सालदेखि त्यहाँ रहेका घरजग्गाको अधिग्रहण प्रक्रिया थालेको थियो । यसमध्ये ३३ जनाको घर र जग्गा विभागको नाममा आएको थियो । मुआब्जा बुझाएर आफ्नो नाममा आएका जग्गा ६ महिनाभित्र खाली गर्न विभागले गत मंसिर ७ गते एक सूचना जारी गर्दै अनुरोध गरेको थियो । तोकिएको समयमा अधिग्रहण गरिएका जग्गा तथा घर खाली नभएपछि विभागले अन्तिम पटक ताकेता गरेको हो ।
तिलौलाकोट क्षेत्रको ऐतिहासिकता उत्खनन गर्न अग्रसर विभागले तोकिएको मितिमा घरजग्गा खाली नभएमा कानूनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।
‘…०८१ ऋसार मसान्तभित्र तपसिलबमोजिमका घरजग्गा खाली गरिदिनुहुन अन्तिम पटकका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागको सूचनामा भनिएको छ, ‘उक्त अवधिभित्र पनि घर जग्गा खाली नगरिएमा कानूनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने व्यहोरासमेत सूचित गरिन्छ ।’
प्रतिक्रिया