बाँकेमा मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी
नेपालगञ्ज । अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ भएपछि रुखको छहारीमा लगेर राख्न थालिएको छ ।
लामो समयदेखि मौरीपालन व्यवसाय गरेका ओम शिवशक्ति मौरीपालन उद्योग तथा पुरमल घरायसी किट जीन बैंक, कोहलपुर नगरपालिका–११ का पुरमल बस्नेतले रानी मौरीले गर्मीका कारण अण्डा पार्न छाडेको जानकारी दिए ।
उनले गर्मीले मौरीको प्रजनन क्षमता पनि कमजोर हुने जनाउँदै जिल्लाको कोहलपुर–१२ स्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहको दृश्यावलोकन स्तम्भमा तीन जना मौरीपालक कृषकका एक सय घार मौरीको बासस्थान निर्माण गरिएको बताए ।
मौरीपालक कृषक बस्नेतले गर्मीबाट बचाउन मौरीलाई धेरै मेहनत गर्नुपर्ने जनाउँदै शीतल स्थान र खानेपानीको व्यवस्थापन जरुरी भएको र गर्मीका कारण मौरीलाई सकस छ, त्यसैले फूलमा आहार लिन जान पनि सक्दैनन् र मौरीको चाका पनि पग्लने डर हुन्छ”, उनले भने ।
कोहलपुरका केही मौरी पालक कृषकले गर्मी छल्न सुर्खेत आसपासका पहाडी जिल्लामा पनि मौरीको बासस्थान बनाएका छन् । खासगरी जेठ, असार, साउन र भदौ महिनामा धेरै गर्मी हुने भएकाले मौरीका लागि शीतल स्थानको खोजी हुने गर्छ ।
मौरीपालक कृषक बस्नेतले सामुदायिक वनमा जामुन, खयर भर्लोलगायत विभिन्न प्रजातिका रुखबिरुवा फुलेका र त्यसबाट केही आहारा मौरीले लिए पनि त्यो पर्याप्त नभएको बताए। “अहिले धेरैजसो कृत्रिम आहारा मौरीलाई दिनुपर्छ, चिनी र चास्नीको घोल बनाएर दिनुपर्छ”, उनले भने ।
बस्नेतले विदेशमा जस्तै नेपालमा पनि प्रविधि भित्र्याएर मौरीलाई शीतलता दिन सकिनेमा जोड दिँदै गर्मीले अहिले सबैभन्दा बढी प्रभाव मौरीलाई परेको बताए । “पानी नपरुञ्जेलसम्म मौरीलाई शीतलतामा राख्छौँ, पानी परेपछि घर लैजान्छौँ”, बस्नेतले भने ।
कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले कृषक नै अहिले धेरै सचेत भएको उल्लेख गर्दै मौरीलाई गर्मीबाट बचाउने छुट्टै प्रविधि नभएको बताए । जिल्लाको कोहलपुरबाहेक खजुरा, वैजनाथ, राप्तीसोनारीलगायत पालिकामा कृषकले मौरीपालन गरेका छन् । केही कृषकले रैथाने जातको मौरी पालेका छन् । एउटा कृषकले उपकरणसहित न्यूनतम रु चार लाखदेखि रु १० लाखसम्म मौरीपालनमा लगानी गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया