दक्षिण अफ्रिकासँग बङ्गलादेश स्तब्ध
काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ ।
अमेरिकाको न्युयोर्कमा गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि चार रनको जित हासिल गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको एक सय १४ रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेश निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय नौ रनमा समेटियो ।
बङ्गलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए । उनले ३४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३७ रन बनाएका हुन् ।
त्यस्तै, महमुदउल्लाहले २७ बलमा दुई चौका प्रहार गरी २० रन जोडे । कप्तान नजमुल हुसेन शान्तोले २३ बलमा एक छक्का प्रहार गरी १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले तीन विकेट लिए भने कागीसो रबाडा र एनरिक नोर्ट्जेले समान दुई–दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११३ रनको योगफल बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन जोडे । त्यसैगरी, डेविड मिलरले ३८ बलमा २९ रन बनाए । ओपनर क्विन्टन डिककले ११ बलमा १८ रन जोडे । बङ्गलादेशका लागि तान्जिम सकिबले तीन विकेट लिए भने तास्किन अहमदले दुई विकेट झारे । त्यस्तै रिशाद होस्सेनले एक विकेट लिए ।
यस जितसँगै समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले तीन खेलमा छ अङ्क बटुलेको छ । पराजित बङ्गलादेशको दुई खेलमा दुई अङ्क नै छ । सोही समूहमा रहेको नेदरल्यान्ड्सको पनि समान दुई खेलमा दुई अङ्क नै छ । नेपाल र श्रीलङ्का अङ्कविहीन छन् । दुवै टोलीले समान एक–एक खेल खेलेका छन् । नेपाल र श्रीलङ्काबीचको खेल भोलि हुनेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया