तीन प्रदेशमा आज भारी वर्षा, जानसक्छ बाढी र पहिरो
काठमाडौं । तीन प्रदेशमा आज भारी वर्षाको आकलन गरिएको छ । भारी वर्षाले बाढी तथा पहिरोको जोखिम निम्त्याउन सक्ने खतरा औंल्याउँदै मौसमविद्ले सचेत रहन सुझाएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान दैनिक मौसम बुलेटिन सार्वजनिक गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरेको हो । भारी वर्षा हुने यी प्रदेशका स्थानबारे भने महाशाखाले केही खुलाएको छैन ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरे स्थानहरूमा आज मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
सोमबार राति पनि दिउँसोजस्तै देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा रातिको समय भारी वर्षा हुने सम्भावना छ ।
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएकाले मौसमविद्ले सतर्कता अपनाउन सबैमा अनुरोध गरेका छन् ।
‘कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाद्वारा जारी चेतावनी तथा परामर्शमा भनिएको छ ।
अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायुको प्रभाव छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया