बालयौन शोषण मुद्दामा बम्जन दोषी ठहर, सजाय पछि सुनाइने

काठमाडौं । रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बालिकामाथि कसुर गरेको ठहर गरेको छ । आज सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनलाई ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बालयौन शोषण’ मुद्दामा कसुदार ठहर गरेको हो ।
सरकारी वकिल कार्यालयले पेश गरेको अभियोजनअनुसार इजलासबाट बम्जनलाई दोषी ठहर भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
“आजको इजलासले बम्जनलाई बालिकामाथि कसुर गरेको ठहर गरेको छ”, उनले भने, “सजाय कति हुने भन्ने फैसला असार १७ गतेको इजलासले टुङ्ग्याउने छ ।”
अभियुक्त बम्जन हाल पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका छन् । फैसलापूर्व आजको इजलासमा दुवैतर्फका वकिलले अन्तिम बहस गरेका थिए । बहसमा बम्जनको पक्षमा वरिष्ठ अधिवक्ता सीताराम केसी, अधिवक्ता राम घिमिरे, मनोहर झा, राष्ट्र विमोचन तिमल्सिना र दिलीप झाले बहस गरेका थिए ।
अभियोगबमोजिम कैद सजायको मागसहित जिल्ला सरकारी वकिल कार्यालय मलङ्गवाका प्रमुख जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गरेका थिए ।
बारा जिल्लाको निजगढ नगरपालिका–१२, निवासी ३० वर्षीय बम्जनविरुद्ध ०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएका थिए । न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते बम्जनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
प्रतिक्रिया