NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १८ गते

एकीकृत समाजवादीको महाधिवेशन आजदेखि, चुन्नेछ नयाँ नेतृत्व

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आजबाट सुरु हुँदैछ ।

असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन अहिले बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ ।

एमालेबाट अलग भएर माधवकुमार नेपालको समूहले एकीकृत समाजवादी जन्माएपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो । नेता तथा कार्यकर्ता एमाले हुँदै आएकाले एकीकृत समाजवादीले यसलाई १०औं महाधिवेशन भनेको छ ।

महाधिवेशनले नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ नेतृत्वसमेत चयन गर्नेछ । अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालले आकांक्षा देखाएका छन् । सैद्धान्तिक एवं वैचारिक नेता भुसाललाई पार्टीका सम्मानित नेता झलनाथ खनालको समेत साथ रहेको बताइन्छ ।

महाधिवेशनमा ७७ वटै जिल्ला र विभिन्न संगठनबाट १ हजार ८ सय प्रतिनिधि सहभागी हुनेछन् । यिनै प्रतिनिधिले आफ्नो मतादेशमार्फत अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य छनोट गर्नेछन् ।