NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १८ गते

श्रमाधान मेलामा १७ हजार ९२१ जनाले दिए रोजगारीका लागि आवेदन

रोजगारदाताबाट १४ हजार ७८८ श्रमिकको माग

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्यांक सार्वजनिक गरेको हो ।

मन्त्रालयका सह सचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले ४१ हजार ३२५ जनाले मेलाको अवलोकन गरेको तथ्यांक सार्वजनिक गरेका छन् । त्यस्तै, रोजगारदाताबाट १४ हजार ७८८ श्रमिकको माग भएको छ । मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्र सहितका ३२२ वटा स्टल राखिएको प्रवक्ता रिजालले बताए ।

मेला विभिन्न शिर्षकमा ३६ वटा कार्यशाला पनि सञ्चालन गरिएको थियो । संघिय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी ३३५ संघ संस्थाहरुसँग सहकार्य गरिएको मेलाका संयोजक समेत रहेका रिजालले बताए । उनका अनुसार मेलाको कुल बजेट ९३ लाख ६ हजार ९६३ रहेकोमा ८५ लाख ३३ हजार ८६५ रुपैयाँ खर्च भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ मा रोजगारदाताले प्रतिवद्धता जनाए अनुसार रोजगारी प्रदान भए नभएको मन्त्रालयले रेकर्ड राख्ने बताए । ‘मेला मात्रै सम्पन्न भयो तर, रोजगारदाताले प्रतिवद्धता जनाए अनुसारको युवालाई रोजगारी दिए नदिएको बिषयमा मन्त्रालयले निरन्तर जानकारी लिनेछ,’ उनले भने । रोजगारीका आवेदन दिने युवाले पनि रोजगारी पाए नपाएको मन्त्रालयले जानकारी लिनेछ ।

मन्त्रालयले गत जेठ १७ गते ३० गतेसम्म सातवटै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गरेको थियो । मेलामा सीप विकास कार्यशालाहरु, नेटवर्किङ सत्रहरु, स्टलहरु र रोजगारीका अवसरहरुका प्यानल छलफलहरु सञ्चालन गरिएको थियो । जसमा १७६ भन्दा बढी विज्ञहरुले वक्ताको रुपमा सहभागिता जनाएका थिए । रोजगारी सिर्जना, योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम आप्रवासन, व्यवसायिक सीप विकास, उद्यमशिलता विकास र यस क्षेत्रका समस्या, चुनौती तथा आगामी कार्यदिशाका सम्बन्धमा छलफल चलाइएको थियो ।