NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १८ गते

कामपाले थाल्यो स्थानीय पेय पदार्थको सम्भाव्यता अध्ययन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रूपमा समेत प्रयोग हुने गरेका छन् । जन्म मृत्युबीचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैंले उत्पादन गरेको पेयपदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरियतालाई ब्राण्डिङ गरेर विश्व समक्ष पु–याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको कामपाले जनाएको छ ।

यो कार्यक्रमलाई कामपा सहकारी विभागले अगाडि बढाएको हो । कामपा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने पाइएमा कानुनी व्यवस्था गरेर सम्भावनालाई नतिजामा रूपान्तरण गर्ने बताए ।

उनले पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिँदै, कामपाले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तर्राष्ट्रियकरण हुनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

यसमा समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका वस्तुको मात्र अध्ययन हुनेछ । पहिलो चरणको अध्ययन सुरु भइसकेको छ । यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन कुन प्रयोजन (शुभ कार्य, औषधि, पिउन) का लागि ब्राण्डिङ् गर्न सकिन्छ भन्ने थाहा हुनेछ । त्यसपछि आवश्यक कानुनी व्यवस्था गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिने बताइएको छ ।