NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २१ गते

कहिले बौरिन्छ सुस्ताएको धितोपत्र बोर्ड ?

काठमाडाैं । लामो समय (६ महिना) देखि नेपाल धितोपत्र बोर्ड (सेवोन) नेतृत्वविहिन छ । गत पुस २० गते बोर्डको अध्यक्षबाट रमेश कुमार हमाल बाहिरिएपछि नेतृत्वविहीन हुँदै आएको बोर्डले अहिलेसम्म नयाँ नेतृत्व पाउन सकेको छैन । नयाँ नेतृत्वका लागि सिफारिस समितिले अध्यक्षको लागि पाँच जनाको नाम सर्टलिस्ट गरेर अन्र्तवार्तमा बोलाएको थियो । अन्र्तवार्तामा तीन जना अनुपस्थित भएपछि नियुक्ति रोकिएको हो । अहिले बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया रद्धसमेत भइसकेको छ ।

बोर्डमा अध्यक्ष नियुक्त हुन नसक्दा बोर्डबाट गर्नुपर्ने धेरै काम ठप्पै भएको छ जसको कारण देशको अर्थतन्त्र र आयोजनाहरुलाई ठूलो धक्का परेको इप्पानका उपाध्यक्ष भरत बहादुर खत्री बताउँछन् ।

उपाध्यक्ष खत्रीका अनुसार बोर्डले सक्षम नेतृत्व नपाएकै कारण व्यवसायीले पनि गर्छु भनेर बोलेका कार्यहरु समयै गर्न नसकेको र अहिले निराश भएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । उनले बोर्डमा सक्षम र योग्य अध्यक्ष छिट्टै नियुक्त गरेर देशलाई निकास दिनुपर्ने सुझाव दिए ।

यता बोर्डमा अध्यक्ष नियुक्तिको अन्योलता छाइरहेकै अवस्थामा असार ७ गते बोर्डले अर्थमन्त्रालयका सहसचिव नरेन्द्र कुमार राणामगरको अध्यक्षतामा साधारण सेयरको लागि निष्काशन अनुमति दिएको छ । बोर्डले हकप्रद सेयर (हिमालयन उर्जा विकास कम्पनी) लाई निष्काशनको लागि अनुमति दिएको हो ।

बोर्डका प्रवक्ता डा. नवराज अधिकारी धितोपत्र ऐन २०६३ अनुसार बोर्डमा अध्यक्ष नियुक्त नहुँदासम्म अर्थमन्त्रालयको प्रतिनिधि, बोर्ड सदस्यले अध्यक्षको हैसियतमा काम गर्न सक्ने र सोहीअनुसार सहसचिव राणामगरको अध्यक्षतामा सेयर निष्काशनको लागि अनुमति दिएको बताउँछन् ।

प्रवक्ता अधिकारीका अनुसार सार्वजनिक निष्काशनमा कुनै कैफिएत नदेखिएको, ९० भन्दा बढी नेटवर्थ भएका कम्पनीहरुले आइपिओ, एफपिओ,  र प्रिमियमा आइपिओ निष्काशनको अनुमति पाउनेछन् ।

अहिले बोर्डले हकप्रद निष्काशनको अनुमति दिएपनि आइपिओ, एफपिओ निष्काशन अनुमति दिइसकेको अवस्था छैन । प्रवक्ता अधिकारी बोर्डले नयाँ नेतृत्व पाउनुअघि नै आइपिओ, एफपिओ निष्काशनको अनुमति दिने तयारी गरिरहेको बताउँछन् ।

नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रकृया, आइपिओ, एफपिओ,  र प्रिमियमा आइपिओ निष्काशन अनुमतिलगायत विभिन्न विषयमा केन्द्रित रहेर नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल प्रसाद भट्टसँग नेपाल धितोपत्र बोर्डका पूर्व निर्देशक निरज गिरीले गरेको छलफलको पूरा अंश तलका भिडियोमा हेर्नुहोस् :