NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

आम्दानी र खर्चको व्यवस्थापन कसरी गर्ने ?

पैसा कमाउने चाहना हरेक व्यक्तिमा हुन्छ । पैसा त्यसै कमाइन्न, त्यसका लागि सीप अपरिहार्य हुन्छ । आर्जन गर्न ठूलो काम नै चाहिँदैन, स–साना काम गरेर पनि पैसा कमाउन सकिन्छ । उदाहरणका लागि केही नभएको परिवारले तरकारीको बिक्रीलाई आम्दानीको स्रोत बनाउन सक्छ ।

आम्दानीको मुख्य स्रोत केलाई बनाउने ? यसको निक्र्योल सबैभन्दा पहिले गर्नुपर्छ । कसैले जागिर गरेका हुन्छन् तर पैसाले पुगेको हुँदैन । यस्ता व्यक्तिले जागिरबाहेक आम्दानीको दोस्रो स्रोत के हुन सक्छ, मस्तिष्कमन्थन गर्नुपर्छ । जागिरे व्यक्ति बिहान, बेलुका खाली हुने भएकाले पार्ट टाइम जब गर्न सकिन्छ । उदाहरणका लागि सहरी क्षेत्रका जागिरेलाई लिन सकिन्छ, जसले राइड सेयरिङबाट आम्दानी गरिरहेका छन् । जागिरले मात्र नभएर विद्यार्थीले पनि राइड सेयरिङमार्फत आम्दानी गरिरहेका छन् ।

यो त भयो सहरको कुरा । गाउँघरमा पनि तरकारी बेचेर स्कुल पढ्न जान सकिन्छ । पैसा कमाउन जागरण र सीप त चाहिन्छ नै जाँगर तथा आँट पनि आवश्यक हुन्छ ।

धनी बन्ने सपना सबैले देख्छन् तर सफल कसरी हुने भन्ने कुरा दुई/तीन कुराले प्रभाव पार्छ । पहिलो छ, व्यक्तिगत वित्तीय लक्ष्य । अहिलेको आम्दानी कुन तहमा छ ? मानौं, कसैको अहिले पचास हजार आम्दानी छ भने खर्च ८० हजार हुनसक्छ । त्यसलै, ५० हजार आम्दानी भएको मान्छे यत्तिबेला ढुक्कले बस्न सक्ने अवस्था छैन । उसले केही बचत गर्ने हो भने ८० हजारभन्दा माथि कमाउनैपर्छ । एकातिर आम्दानीका नयाँ स्रोतहरु खोज्नुपर्ने आवश्यकता छ, त्यसको लागि आम्दानीको लक्ष्य अलि बढी तोक्नुपर्यो । दोस्रो, खर्चको लक्ष्य घटाएर तोक्नुपर्छ । कहाँ–कहाँ घटाउन सकिन्छ, घटाउनु पर्छ । खर्च नियन्त्रण गर्दा बीचमा जुन मार्जिन बच्छ, त्यो नै बचत हो । बचतको पनि लक्ष्य तोक्नुपर्छ । कति गर्ने ? दैनिक गर्ने कि मासिक ?

बचतलाई दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा आपतकालीन कामको लागि र अर्को दीर्घकालीन । आपतकालीन कामको लागि बचत खातामा जम्मा गर्ने, दीर्घकालीनका लागि मुद्धती खाता या अरू कुनै क्षेत्रमा लगानी गर्ने । यसले थप आर्जन हुन्छ ।

दोस्रो महत्त्वपूर्ण कुरा योजना हो । वित्तीय व्यवस्थापन गरेपछि लक्ष्य निर्धारण र त्यसपछि लक्ष्यअनुसार योजना तयार हुनुपर्छ । योजना मात्रै भएर पनि हुँदैन वित्तीय अनुशानलाई आत्मासाथ गर्न सक्नुपर्छ । यी कुरामा ध्यान दिएर अगाडि बढ्यो भने आर्जन गर्न सकिन्छ । जति पनि सफल भएका मानिसहरूको इतिहास हेर्छौैं, उनीहरु यही तरिकाबाट अघि बढेर सफल भएका हुन् ।

धनी बन्नको लागि स्वअनुशासन चाहिन्छ । आफूले आफैंलाई नियन्त्रित गरेर अगाडि बढ्ने कुरा एउटा भयो भने अर्को कानूनी अनुसशान अर्थात् वित्तीय संस्थाहरूको नीति, नियम, कानुन जे छ, त्यसलाई हुबहु पालन गरेर त्यसप्रति सकारात्मक धारणा राखेर त्यसलाई टेवा दिने हिसाबले अगाडि बढ्यो भने पक्कै धनी बन्न सम्भव छ ।

अर्को व्यावसायिक नैतिकतालाई हामीले कहिल्यै पनि भुल्नु भएन । व्यक्तिगत रूपमा पनि व्यावसायिक रूपमा पनि । पैसा कमाउँदा सही मार्गबाट राम्रो मान्छे भएर कमाउने हो । व्यापार गर्न पाइन्छ, नाफा खाना पाइन्छ । हाम्रो कानूनले पनि व्यवसाय गर्दा नाफा खान पाइने प्रावधान दिएको  छ । तर कानूनले बर्जित गरेको काम गरेर, अरूको चित्त दुखाएर कमाएको पैसाले अन्ततः राम्रो नतिजा दिँदैन । यदि धन कमायो भने पनि आफैलाई सन्तुष्टि हुँदैन ।

खर्च व्यवस्थापन

मानिसहरूमा विलासी जीवन जिउने चाहना हुन्छ । भ्रमण, पार्टी गर्ने, साथीभाई बोलाउने धेरै इच्छा हुन्छ । तर हामीले आम्दानी र खर्चको तालमेल मिलाउन सकेनौं भने कहिल्यै बचत गर्न सक्दैनौं । हामीले खर्चको प्राथामिकीकरण गर्न जान्नुपर्छ । मुख्यगरी खर्चलाई तीन वर्गमा वर्गीकरण गर्न सकिन्छ । अति आवश्यक, आवश्यक र अनावश्यक । गाँस, बाँस र कपासलाई हामीले अतिआवश्यक खर्चमा राख्नुपर्छ । त्यसपछि शिक्षा र स्वास्थ्य उपचार आउँछ । यी पाँच कुरालाई पहिलो प्राथामिकतामा राखेर बचत गर्नुपर्छ । यी कुराका लागि सकेसम्म धेरै पैसा कमाउनुपर्यो, बचत गर्नुपर्यो ।

अनावश्यक खर्चलाई कटौती गर्दै जानुपर्छ । घर बिग्रिँदा त्यसको मुली र संस्था बिग्रँदा त्यसको चिफ फाइनान्स अफिसर राम्रो छैन भन्ने बुझिन्छ । यो बिग्रनुको कारण पनि अहिले त्यही देखिरहेको छ । आर्थिक स्रोत अत्यन्तै पारदर्शी, व्यवस्थित राख्नुपर्छ । चाहे संस्थामा होस् या घरमा ।  चुरोट, खैनी, रक्सीलगायत अनावश्यक खर्चमा पर्छन् । चुरोट खाने मान्छे घरमा छ भने त्यहाँ अतिआवश्यक कुरालाई छोडेर चुरोट किन्छ भने खर्च व्यवस्थापन हुन सक्दैन । आर्थिक स्रोत, वित्तीय स्रोत अत्यन्तै पारदर्शी र व्यवस्थित हुनुपर्छ । चाहे घरको होस् या संस्थाको, अनावश्यक खर्च कटौती गर्दै जान सकेनौँ भने बचतको लक्ष्यमा कहिल्यै पुग्न सक्दैनौं ।

लगानी व्यवस्थापन

धेरैमा बचत गरेको पैसा कहाँ राख्ने भन्ने अन्योलता देखिन्छ । बचतले थप कमाइ गर्छ भन्ने कुरा हामीले जान्नुपर्छ । बचत गरेको पैसा कतिले बैंकमा त कतिले सहकारीमा जम्मा गर्ने गर्छन् । पछिल्लो समय सहकारीमा समस्या निम्तिएकाले धेरैले सहकारीमा पैसा जम्मा गर्न हुन्न भनिरहेका छन् । सहकारीमा पैसा जम्मा गर्नै नहुने भन्ने होइन । सहकारीको सिद्धान्त नै स्वनियमनमा आधारित छ । त्यहाँ नियमन त्यति राम्रो छैन । तर नेपालमा अति राम्रा सहकारी पनि छन् । बुझेर बचत गर्न सकिन्छ ।

सहकारीभन्दा बैंक सुरिक्षित ठाउँ हो । बैंकले पाँच लाखसम्मको डिपोजिटको सुरक्षणसमेत प्रदान गरेको हुन्छ । अहिले नेपालमा धेरै बैंक तथा वित्तीय संस्था छन् त्यसैले कहाँ बचत गर्ने, कहाँ लगानी गर्ने छान्ने अधिकार छ । बुझेर, हेरेर रोज्न सक्छन् । बचतमा भन्दा लगानीमा जोखिम स्वतः बढी हुन्छन् नै । जति धेरै जोखिम हुन्छ, त्यति धेरै नाफा हुने सम्भावना बढेर जान्छ ।

आम्दानी दुई प्रकारको हुन्छ । एउटा सक्रिय र अर्को निष्क्रिय । सक्रियमा तलब र पार्ट टाइम कामलाई राख्न सकिन्छ । निष्क्रियमा भोलि बढी आम्दानी चाहिन्छ भनेर गरिने लगानी पर्छ । त्यसबाट हामीले केही रिर्टन पाउँछौं । रिर्टन पाउने ठाउँमा हामीले लगानी बढाउनुपर्छ । लगानी गर्दा धेरै अवसर आउँछन् । आपत् पर्दा चाहिने केही पैसा बचत खातामा र केही दीर्घकालीन बचतको लागि मुद्धती खातामा जम्मा गर्नुपर्छ ।

अर्को छ, बीमा । व्यक्तिगत सुरक्षा, जोखिम र बचतको हिसाबले बीमा उपयुक्त हुन्छ । तेस्रो विकल्पमा हामी पुँजीबजारमा लगानी गर्न सक्छौँ । दोस्रो बजारको रिस्क लिन नचाहनेले प्राथमिक बजार आइपिओमा लगानी गर्न सकिन्छ । जुन कम जोखिम र धेरै रिर्टन पाउने सम्भावना हुन्छ । यसबाहेक म्युचल फण्डमा लगानी गर्नसमेत सकिन्छ । यो क्षेत्र पनि लगानीको लागि उपयुक्त हो । लगानी गर्दा विज्ञको सल्लाह लिनुपर्छ । हल्लाको पछि लागेर लगानी गर्नुहुँदैन ।

(बैंक तथा वित्तिय संस्था, शिक्षण, बीमालगायत विभिन्न क्षेत्रमा लामो समय जागिरे जीवन बिताउनुभएका मुरली प्रसाद लम्साल हाल वित्तिय साक्षरता प्रशिक्षकको रूपमा आवद्ध हुनुहुन्छ )