NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

कपनमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ कपन सरस्वतीनगरमा मोटरसाइकल दुर्घटना हुँदा चाकलको मृत्यु भएको छ ।
मुगु घर भएका २८ वर्षीय मन्दीप मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । मल्लले चलाएको बागमती प्रदेश ०२–०२५ प ०६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, झापा, सुर्खेत र म्याग्दीमा भएका दुर्घटनामा पनि तीन जनाले ज्यान गुमाएका छन्।

झापा, हल्दिवारी गाउँपालिका-५ सोडागान्धी चोकस्थित सडकमा मे.१ ज ३२६१ नम्बरको पिकअप गाडीले मे.९ प ९६८५ नम्बरको मोटरसाइकललाई बिहीबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जना पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विएण्डसि अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-७ भुकम्प मापन केन्द्र नजिकै सडकमा भे.६ प ३९१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ ईत्राम बस्ने ३० वर्षीय दिपेश केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

म्याग्दी, रघुगंगा गाउँपालिका-७ गौँडामुनीस्थित सडकमा ग.१ त ७२४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर बिहीबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरका सहचालक रामेछाप मन्थली नगरपालिका-१३ घर भएका ३९ वर्षीय तेज बहादुर पाण्डेको घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।