गुल्मीमा अविरल वर्षापछि बाढीपहिरो, दुईतल्ले घर बगायो, तीन दर्जन बढी सडक अवरुद्ध

गुल्मी । गुल्मीमा अविरल वर्षापछि गएको बाढी तथा पहिरोले एउटा घर बगाएको छ भने तीन दर्जन सडक अवरुद्ध बनेको छ ।
गएरातिदेखिको अविरल वर्षाले तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध हुँदा आवागमन प्रभावित भएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
त्यसैगरी, तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को रिडी खज्र्याङ् सडक र तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्रमा पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
अविरल वर्षाका कारण रिडी‐रुद्रवेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६, उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाडौँसम्म जाने लामो तथा छोटोदुरीका सवारी साधनहरू बीचबाटोमै अलपत्र परेका छन् ।
सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भइरहे पनि वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
बाढीले घर बगायो
त्यसैगरी अवरल वर्षाका कारण गुल्मीको छत्रकोट गाउँपालिका–५, दुमैमा खोलामा आएको बाढीले स्थानीय रामबहादुर बुचाको घर बगाएको छ ।
बुचाको दुईतले घर बगाउँदा दुईवटा बाख्रासहित १५ वटा कुखुरा मरेका छन् । घरमा रहेको एउटा स्कुटरसमेत बाढीले बगाएको छ ।
घटनामा मानवीय क्षति भने भएको छैन ।
हावाहुरीसहित आएको वर्षाका कारण मकैबालीमा समेत क्षति पुगेको छ ।
वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आउने तीन दर्जनभन्दा बढी सडकहरु समेत अवरुद्ध बनेका छन् ।
वर्षाका कारण थप जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सर्त भइ सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया