NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो प्रत्यारोपण सेवा’ को तयारी

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ । चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ । यसअघि नेपाल सरकारसँग यससम्बन्धी सम्झौता भइसकेको भन्दै उनले सन् २०२४ को अन्तिमदेखि भवन निर्माण सुरु हुने बताए ।

गत वैशाख १३ गते स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसक्नुभएको निर्देशक डा पौडेलले जानकारी दिए ।

सम्झौतामा ‘चीन सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ’ भन्ने उल्लेख छ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमति भएको उनले बताए ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार चिनिया टोली यहाँ आएर भवन निर्माणस्थलको अनुगमन गरेर गइसकेको छ । उनले हालको प्रशासन भवनको पछाडि रहेको जग्गा छनोट गरिएको बताए । उपनिर्देशक नेपालले ठाउँको छनोट भइसकेको भन्दै उक्त ठाउँको माटो परीक्षणको काम समेत चिनियाँ टोलीले गरिसकेको जानकारी दिए ।

आफूहरुले स्थान दिने, पानी र बिजुलीको व्यवस्थापनलगायत स्थानीय समन्वय गर्ने बताउँदै उपनिर्देशक नेपालले भने, “भवन निर्माणदेखि उपकरण खरिद र जनशक्तिलाई तालिमसम्मको काम चिनियाँ सहयोगमा हुन्छ । भवनको डिजाइन, प्रविधि सबै चिनियाँले गर्ने सहमति भएको छ ।”

नेपालमा फाट्टफुट्ट काठमाडौँमा ‘बोनम्यारो’ प्रत्यारोपणको काम हुने भए पनि छुट्टै युनिट बनाएर गर्न लागिएको यो पहिलो भएको उपनिर्देशक नेपालको भनाइ छ । बोनम्यारो प्रत्यारोपण युनिट पाँच शय्याको हुने उनले जानकारी दिए । कार्यकारी निर्देशक डा पौडेलले निर्माण सुरु भएको एक वर्षमा भवन सम्पन्न हुने जनाउँदै त्यसलगत्तै सेवा सञ्चालन हुने बताए । “चिनियाँ आफैँले निर्माण गर्ने भएकाले काम छिटो हुन्छ ।” उनले भने । उपकरण खरिद पनि चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाले गर्ने भएकाले झन्झटिलो नहुने भन्दै उनले भवन निर्माण सम्पन्न भएलगत्तै उपकरण जडान गरेर सेवा सञ्चालन हुने बताए ।

कार्यकारी निर्देशक डा पौडेलका अनुसार भवन निर्माण र उपकरण खरिदपछि यहाँका जनशक्तिलाई तालिमसमेत चिनियाँ टोलीले उपलब्ध गराउने छ । उनले भने, “सम्पूर्ण तयारी पूरा गरेर अस्पताललाई हस्तान्तरण गर्ने हो । यो अस्पतालको निर्माणसमेत चिनियाँ सरकारको सहयोगमा भएको हो ।”

ताजा अपडेट

नेपालवाच विशेष