पाँचथरमा माओवादी कार्यकर्ताको घरमा बम विस्फोट, २ को मृत्यु, २ घाइते

काठमाडौं । पाँचथरमा एक माओवादी कार्यकर्ताको घरमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । घाइते दुईमध्ये एक बालकको अवस्था गम्भीर छ ।
फालेलुङ गाउँपालिका–५, प्राङबुङका आइतराज केरुङको घरमा बिहीबार बम विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा दिलीप साँवाका २ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दीप्सन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारीले विस्फोटपछि घाइते चार बालबालिकामध्ये दुई बालबालिकाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार घटनाका घाइते दुई बालबालिकाको उपचार भइरहेको छ । उपचाररतमध्ये एकको अवस्था गम्भीर रहेकाे उनले बताए ।
आइतराजको घरमा बालबालिका खेलिरहेका बेला छानोबाट गोलो वस्तु कर्सामा खसेको थियो । त्यसलाई बालबालिकाले हातमा लिएर चलाउँदा बिहीबार अपराह्न ३ बजे विस्फोट हुन पुगेको थियो ।
बम विस्फोट हुने घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन् । द्वन्द्वको समयमा उक्त घरलाई माओवादीले आफ्नो बासस्थानका रूपमा प्रयोग गर्ने गरेका थिए । त्यही समयमा माओवादी कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ अहिले विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
तत्कालीन नेकपा माओवादीले २०५२ देखि १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र संघर्षमा विस्फोटक पदार्थ नष्ट नगरी बेवारिसे छाडेकोमा बेलाबेला विस्फोटका घटना हुने गरेका छन् । त्यसरी छाडिएका विस्फोटक पदार्थ विभिन्न स्थानमा विस्फोट हुँदा मानवीय तथा भौतिक क्षति भइरहेका छन् ।
प्रतिक्रिया