अवरुद्ध डुम्रे-बेँसीसहर सडक एकतर्फी सञ्चालनमा

लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ ।
यस खण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–१ उदिपुरमा वर्षासँगै पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी थानेश्वर चपाईंले सडक माथिबाट आएको ढुङ्गामाटोसहितको पहिरो जेसिबीको सहायताले हटाएर एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिए ।
सडक एकतर्फी रुपमा सञ्चालनमा आए पनि पानी निरन्तर परिरहेकाले पुनः पहिरो झरेर अवरुद्ध हुनसक्ने भन्दै सावधानी अपनाउन उनले आग्रह गरे । उक्त स्थानमा सबैभन्दा बढी पहिरो जाने भएकाले जोखिमयुक्त ठाउँका रुपमा मानिएको प्रहरीले जनाएको छ ।
यहाँ विगत तीन वर्षदेखि बर्सेनि पहिरो जाने गरेको छ । सङ्घीय सरकारको करिब रु ११ करोडमा पहिरो रोकथामको प्रयास गर्दै आए पनि काम सम्पन्न भइनसकेकाले सो स्थानमा पहिरोको जोखिम कायम नै रहेको सूचना अधिकारी चपाईंले बताए ।
लमजुङ र मनाङवासी यस खण्ड हुँदै तनहुँ–काठमाडौँ–पोखरालगायत स्थानमा जाने र आउने गर्दछन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया