बाँकेमा ‘जापनिज इन्सेफ्लाइटिस’ को बिरामी फेला
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ ।
नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालकी बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिइन्।
उनले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’ मा उपचार भएको र अहिले ती बालिकाकाको अवस्था सामान्य भएको बताइन् । “प्रयोगशाला परीक्षणमा बालिकालाई जापनिज इन्सेफ्लाइटिसको भएको पुष्टि भयो”, उनले भनिन् ।
स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर –१ मतहनियाका नौ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिस भएको पुष्टि भएको बताए । ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएको बारे पनि थाहा हुन नसकेको जनाइएको छ ।
उनले जापानी इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेको उल्लेख गरे । चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउँछ । सो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ ।
जापनिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले बताए ।
यसैबीच भेरी अस्पतालमा झाडाबान्ताका बिरामीका लागि अलग वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरिएको छ । डा खड्काका अनुसार यस्ता वार्डमा तीनजना बालबालिकाको उपचार भइरहेको छ । तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया