मनास्लु आरोहणमा आकर्षण बढ्यो
काठमाडौँ । मनास्लु (आठ हजार एक सय ६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ ।
विश्वको आठौँ अग्लो र नेपालको सातौँ मनास्लु आरोहणका लागि विगत वर्षझैँ मनास्लु आरोहणमा यस वर्षको शरद् ऋतु (अटम सिजन) को हिमाल आरोहणमा पनि आरोहीको आकर्षण देखिएको हो ।
पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएकामा अधिकांशले आरोहण गरेका छन् । यसमा ८२ महिला र दुई सय २६ पुरुष छन् । “मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ”, उनले भने, “मनास्लु आरोहण करिब सकिन लागेको छ, अनुमति लिएका अधिकांशले सफल आरोहण गरेका छन्, अब एक–दुई दिनमा मनास्लु आरोहण सकिन्छ ।”
दुई साताअघि यहाँ आरोहण सुरु भएको थियो । विभागका अनुसार अघिल्लो वर्षको यही सिजनको मनास्लु आरोहणमा २६ आरोही समूहका तीन सय एक जनाले आरोहण अनुमति लिएका थिए । हाल अमादब्लम र हिम्लुङको आरोहण पनि चलिरहेको छ ।
यही असोज ११ र १२ गतेको अविरल वर्षाले मुलुकमा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका घटनाका बाबजुद पर्वतारोहण उत्साहजनक रहेको विभागले उल्लेख गरेको छ । पर्वतारोहणमा त्यति धेरै क्षति नपुगे पनि पदयात्रामा भने केही समस्या भएको विभागले जनाएको छ ।
यस सिजनमा मनास्लुसहित ३४ हिमाल तथा ‘पिक’ आरोहणका लागि ६१ आरोही समूहका एक सय १३ महिला र तीन सय ७९ पुरुष गरी पाँच सय १० आरोहीले अनुमति लिएका विभागको पर्वतारोहण शाखाले जनाएको छ । विभिन्न हिमाल आरोहणका लागि नेपालसहित ५८ देशका आरोहीले अनुमति लिएका छन् ।
यो सिजनमा हिमाल आरोहणबापत रु चार करोड ९७ लाख ३३ हजार ५८ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । अमादब्लम आरोहणका लागि दुई आरोही समूहका १८, धवलागिरिमा एक आरोही समूहका १४, मकालुमा एक आरोही समूहका दुई आरोहीले अनुमति लिएका छन् ।
शरद् ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको तथ्याङ्क छ ।
सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए । सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङफुर्वा शेर्पाले आफ्नो कम्पनीबाट ८० भन्दा धेरै आरोही मनास्लु आरोहणमा गएको जानकारी दिए । अब करिब १० प्रतिशत मात्र आरोहीले मनास्लु आरोहण गर्न बाँकी रहेको उनले बताए ।
लामो आरोहण इतिहास रहेको गोरखामा अवस्थित मनास्लु हिमालको २०७३ सालमा ६० वर्षे हीरक महोत्सव मनाइएको थियो । यस हिमाललाई कुताङ र हृदयको हिमाल पनि भन्ने गरिन्छ । मानसिरी पर्वतशृङ्खलामा रहेको यो संसारको आठौँ अग्लो हिमाल हो ।
विसं २०७७ असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली मनास्लु आरोहण गरेपछि विश्वभर यस हिमालको चर्चा भएको थियो । उक्त आरोहणले नेपालको पर्वतारोहणलाई विश्वबजारमा थप प्रवर्द्धन गर्न सघाउ पुगेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।
ताजा अपडेट
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
स्वास्थ्य मन्त्रालयद्वारा बेडसंख्याअनुसार शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल गर्ने निर्णय
-
१ सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
प्रतिनिधिसभा बैठक बस्दै
-
यी हुन् औद्योगिक क्षेत्रको करोडौं भाडा नतिर्ने उद्योगहरू


प्रतिक्रिया