राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

इनरुवा । जिल्ला सदरमुकाम इनरुवा-९ बबियाका कुमारी खत्वेको घ रका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो ।
बाढीले खाना पकाउने भाँडावर्तन बगायो भने घर अझै ओभाएको छैन । विस्थापित भएको कुमारीको घरमा शिशुलाई स्तनपान गराउने ठाउँसमेत छैन । आँगनमा हिलो हुँदा खाना पकाउन समस्या छ । अहिलेसम्ममा यहाँका पीडित परिवारलाई कतैबाट सहयोग प्राप्त नभएको पीडित सत्रुघन खत्वेले बताए । बाढीका कारण बबियामा खत्वे टोलका मात्र करिब ४० घरपरिवार प्रभावित छन् ।
सुनसरी खोलामा आएको बाढीले इनरुवा-४ र ९ मा असर पु-याएको छ । घरमा हिलो र बाहिर पानी भएकाले दिसापिसाब गर्नसमेत समस्या भएको स्थानीय कुमारी खत्वेको भनाइ छ । बाढीपीडित पाँच दिनदेखि एक छाक भुजा खाएर बसेको विस्थापित अनुशा मरिकले बताइन् । वडा कार्यालयले पीडितका लागि भुजा च्युरा सहयोग गरेको इनरुवा-९ का अध्यक्ष वसिरमुद्धिन मन्सुरीले जानकारी दिए ।
गत साताको अविरल वर्षासँगैको बाढीले घर डुबानमा परेका खत्वे, मरिक र सदा सुकुम्बासीको आठ परिवार सबैभन्दा बढी समस्यामा छन् । मजदुरी गरेर खाने उनीहरु बाढीपछि काम नपाउँदा भोकभोकै बस्न बाध्य भएको कुमारीदेवी खत्वेले बताइन्।
पीडितको गुनासो सुन्न कोही नआएको र विद्यालयमा बस्दै आएको पीडित बताउँछन् । तीनै तहको सरकारले पीडितलाई गाँस, बास, कपासका लागि सहयोग नगरेको उनीहरुको गुनासो छ ।
पीडित परिवारलाई दुई दिनअघि मात्र राहत सामग्री वितरण गरेको र कोही भोकभोकै बस्नु नपरेको इनरुवा–४ का वडाध्यक्ष बौवालाल मेहताले दाबी गरे । पीडितलाई थप सहयोगका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पहल भइरहेको उनले बताए । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगर क्षेत्रका बाढीपीडितलाई वडाबाट राहत सामग्री वितरण भएको बताए।
ताजा अपडेट
-
करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
-
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य
-
टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटको प्रक्षेपण
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
कर्णाली प्रदेश : चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
प्रतिक्रिया