NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर १८ गते

सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्छन् । ठेलमा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ । उनको ठेला देख्नेवित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । उनले लिएर आउने ठेलाको टायरमा हावा हुँदैन । उनको सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ रहेको छ ।

उनले भने, “ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्टि छन् । सातु बिक्री गरेर मासिक रूपमा रु ५० हजार आम्दानी हुन्छ ।”

गर्मीयामका बेलामा रु एक लाख मासिक कमाउने गरेको र चिसोको बेलामा आम्दानी हुने उनको भनाइ रहेको छ ।

चिसोका बेलामा दैनिक रुपमा एक सयदेखि एक सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको छ भने गर्मीका बेलामा दुई सयदेखि दुई सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको उनले बताए ।

उनले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्री गर्दै आएका छन् । उनले विगतका वर्षमा विभिन्न व्यापार गर्दा असफलता प्राप्त भएकामा यस व्यापारले राम्रो फाइदा हुने गरेको बताए ।

दैनिक रुपमा सामग्री महँगिँदै गएका बेलामा प्रति गिलास सातुको रु ४० लिने गरेको उनको भनाइ छ । दैनिक रुपमा रु चार हजारदेखि पाँच हजारसम्मको बिक्री हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रुपमा रु ५० हजारदेखि ६० हजारसम्म आम्दानी हुने गरेको पौदारले बताए ।

सातु बेचेरै छोरीको बिहे गर्नुका साथै पाँच घरपरिवार चलाउँदै आएको उनले स्वास्थ्य उपचारसमेत यही व्यापारको सहयोगमा गरेका छन् । रु एक लाखदेखि दुई लाख खर्च गरेर विदेशमा गएर रु ४० हजारदेखि ५० हजार आम्दानी गर्दै आएकोमा आफू सोही बराबरको लगानीमा घरमै बसेर राम्रो आम्दानी गर्दै आएको र दैनिक रुपमा सयौँ साथीभाइसँग भेट समेत गर्दै आएको उनले बताए । उनले भने, “स्वदेशमै काम गरे वैदेशिक रोजगारीका लागि अर्काको देशमा पसिना बगाउनुपर्दैन । ”

ताजा अपडेट

नेपालवाच विशेष