इन्सपेक्टर र असई भर्नामा कति पर्याे आवेदन ?
काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक(इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक(असई)को भर्नामा अपेक्षा भन्दा कम आवेदन परेको प्रहरीले जनाएको छ ।
६४ इन्सपेक्टरको मागमा दुई हजार तीन सय पाँच तथा दुई सय ५६ असईको मागमा १५ हजार नौ सय २१ आवेदन परेको छ ।
यो आवेदन अन्य सरकारी सेवा तथा विगतको तुलनामा न्यून हो । गत वर्ष इन्सपेक्टरमा ९६ जनाको माग हुँदा दुई हजार सात सय ९३ तथा असईमा दुई सय ६० जनाको मागमा १९ हजार नौ सय ३२ जनाको आवेदन परेको थियो ।
प्रहरी प्रवक्ता दानबहादुर कार्की अपेक्षित रुपमा आवेदन नपरेको बताउँछन् । ‘सुरक्षा सेवामा आकर्षण घट्दै गएको तथ्याङकले देखाउँछ,’ उनी भन्छन्,‘जोखिमपूर्ण जागिर, न्यून सेवा सुविधा र शारिरीक परिश्रम गर्नुपर्ने काम भएकाले धेरै आकर्षण नदेखिएको हो भन्ने लाग्छ ।’ विगतमा वर्षमा एक पटक मात्र भर्ना खुल्नेमा अहिले दुई पटक खुल्ने गरेकाले पनि संख्या केही कम देखिएको हुनसक्ने प्रवक्ता कार्कीको भनाई छ ।
नयाँ पुस्तामा विदेशप्रतिको मोह बढेको, प्रहरीमा न्यून सेवा सुविधा हुने तर डिउटी कठिन हुने भएकाले पनि प्रहरी सेवामा आकर्षण गरेको प्रहरीका विगतका अध्ययनले देखाएका छन् । प्रहरी सेवामा आकर्षण बढाउन नेपाल प्रहरीले अध्ययन गरेर आवेदन बढाउने प्रयास गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन । बरु, भर्ना भएकालाई टिकाउन नसक्दा पेन्सन अवधि समेत नपुगी जागिर छाड्ने प्रवृत्ति समेत बढ्दो छ ।


प्रतिक्रिया