हिरासतबाट शुभेच्छुकलाई रविले पठाए सन्देश, चेक भेटिएकोबारे के भने ?
काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीकाे ब्याज भुक्तानीका लागि काटेको चेकको छाया प्रति सार्वजनिक भएको छ । नेकपा एमालेका सांसद सूर्य थापा संयोजकत्वको संसदीय छानबिन समितिले सहकारीसँगको कारोबारमा रवि संलग्न रहेको भेटेको थिएन । सहकारीको कारोबारमा रविको संलग्नता खुल्ने कागजात प्रहरीले पहिलो पटक फेला पारेको हो ।
गोरखा मिडिया प्रालिको नाममा रविले सहकारीको ब्याज भुक्तान गर्न चेक काटेको भेटेपछि विभिन्न जोडकोणबाट चर्चा परिचर्चा भइरहेका छन् । बयानका क्रममा प्रहरीले यस्तो चेक देखाएपछि रवि आफैं स्तब्ध बनेको र यसका कारण बयान नै रोकिएको व्यहोराका समाचार सार्वजनिक भइरहेका छन् ।
विगतमा आफूबारेका समाचार सार्वजनिक लगत्तै रवि आफैंले सामाजिक सञ्जाल फेसबुकमा लेखेर/बोलेर स्पष्टीकरण दिने गरेका थिए । तर यस पटक हिरासतमा भएका कारण उनको धारणा सार्वजनिक हुन सकेको छैन ।
यहीबीच रविले सहकारीको ब्याज भुक्तानका लागि गोरखा मिडिया प्रालिको प्रबन्ध निर्देशकका हैसियतमा आफूले चेक काटेको लगायत सार्वजनिक पछिल्लो समाचारबारे पार्टीका कार्यवाहक प्रवक्ता मनिष झामार्फत धारणा सार्वजनिक गरेका छन् । नेपाल प्रहरीको कास्कीस्थित हिरासतमा भेटका लागि पुगेका झामार्फत रविले सोमबार सार्वजनिक विषयहरूबारे धारणा राखेका हुन् ।
चेकबारे के भने ?
झाले रविको सन्देश भन्दै फेसबुकमार्फत सार्वजनिक गरेको विवरणअनुसार आफ्नो हस्ताक्षरसहित चेक भेटिएको कुरा स्वीकार गरेका छन् । जिबी राईको निर्देशनमा त्यस्तो चेक काटिएको हुनसक्ने उल्लेख गर्दै सपोर्टिङ डकुमेन्ट हेरेपछि मात्र बल्ल त्यसबारे भन्न सकिने जनाएका छन् । कामको व्यस्तता र उपत्यकाबाहिरको भ्रमणमा जाँदा चेकमा हस्ताक्षर गरेर छाड्ने गरिएकाले त्यसको दुरूपयोग भएको हुनसक्ने अर्को आशंका पनि उनकाे छ ।
‘जिबी राईको निर्देशनमा कुनै चेकहरु काटिएको हुन सक्छ र त्यसका लागि चेकसँगैको ‘सपोर्टिङ डकुमेण्ट’ हेर्नुपर्ला,’ रविको भनाइ उद्धृत गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता झाले फेसबुकमा लेखेका छन्, ‘साथै व्यस्तता र उपत्यका बाहिरको भ्रमणहरुका कारण खाली चेकमा समेत हस्ताक्षर गरेर छोड्ने अभ्यास थियो। कतै दुरुपयोग पो भयो कि?’
जे–जसरी आफ्नो हस्ताक्षरमा चेक जारी भए पनि व्यक्तिगत र संस्थागत रूपमा सहकारीबाट ऋण नलिएको रविले दोहो–याएका छन् । सहकारीको ऋणको सावा, ब्याज, किस्ता तिर्न कुनै पत्र, सूचना प्राप्त नभएको उनले जनाएका छन् ।
चेक भेटिएपछि रविका कारण बयानमै विलम्ब भएको भनेर सार्वजनिक समाचारप्रति पनि उनले आपत्ति जनाएका छन् । समाचारमा भनिएजस्ताे नभई पुरानो विषय बुझ्नका लागि ५ देखि ७ मिनेट लिएकाे उनकाे भनाइ छ । ‘पहिलो कुरा, उक्त चेकसहितको सवालका लागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ। पुरानो कुरा भएकाले बुझ्न दुई/तीन कल बयान लिनेकै अगाडि गरेको पनि हुँ । सबै कलको समय जोड्दा ५ देखि ७ मिनेट मात्र भयो होला । त्यतिन्जेल अरू सवालहरूमा काम निरन्तर भयो । काम रोकिएको र त्यसैका कारण बयानमा समय लागेको कुरा गलत हो, झुटो हो,’ रविको भनाइ उद्धृत गर्दै झाले भनेका छन् ।
चेक भेटिएपछि रवि आत्तिएको भनेर प्रचारित समाचारको पनि रविले हिरासत कक्षबाटै कडा शब्दमा खण्डन गरेका छन् । एकदम आत्तिएको, तर्सिएको, झस्किएको भन्दै आफूखुसी बंग्याएर आफूबारे प्रचार गरिनु कायरताको पराकाष्ठा भएको रविको टिप्पणी छ। रविले आफूविरुद्ध लगातार मिडिया ट्रायल भइरहेको र पछिल्ला समाचार पनि त्यसकै निरन्तरता भएको झामार्फत उल्लेख गरेका छन् ।
आफूले बोल्दै नबोलेका कुरा बोलेको भनेर प्रचार गराई जिल्ला सरकारी वकिलको कार्यालय, रूपन्देहीले बेइमानी गराएको आराेप रविले लगाएका छन् ।
एउटा व्यक्तिविरुद्ध सिंगो राज्यशक्ति लागेको आरोप लगाउँदै रविले नीलो क्रान्तिको रङ बदल्नुपर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया