ओलीको आलोचना गर्ने एमाले सांसद पार्टीबाट निष्कासित
चौधरी भन्छन्– नोकरशाही केन्द्रीयता अस्वीकार्य
काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलविरुद्ध सार्वजनिक रूपमा आलोचना गरेको भन्दै एमालेले लुम्बिनी प्रदेशसभा सदस्यलाई पार्टीबाट निलम्बन गरेको छ ।
बाँके क्षेत्र नं. १ (ख) बाट प्रदेशसभामा निर्वाचित दुर्गा चौधरीलाई एमालेको बाँके जिल्ला कमिटीले पार्टी सदस्यबाट निलम्बन गरेको हो ।
गत कात्तिक ५ गते पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलविरुद्ध चौधरीले सार्वजनिक रूपमा तथा सामाजिक सञ्जालमार्फत गालीगलोज गरेको भन्दै नेकपा एमालेको बाँके जिल्ला कमिटीले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफमा कमीकमजोरी महसुस नगरी उल्टै पार्टीका नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्ध जवाफ दिएको भन्दै एमालेले सांसद चौधरीलाई सदस्यबाट निलम्बन गरेको हो ।
नेकपा (एमाले), जिल्ला कमिटी, बाँकेका अध्यक्ष निरक गुरुङले पार्टी केन्द्र, प्रदेश कमिटीलाई बोधार्थ पठाएर काटेको निलम्बन पत्रमा चौधरीले अनुशासनविपरीत कार्य गरेकाले पार्टी विधानको धारा ८१(७) बमोजिम कारबाही गरिएको उल्लेख छ ।
कम्युनिस्ट पार्टीमा विचारको संघर्ष र स्वच्छ आलोचना अपेक्षित हुने भए पनि एमालेमा नेतृत्वको आलोचना गर्न अघोषित बन्देज छ । विवादास्पद व्यापारीसँग पार्टी कार्यालय निर्माणका लागि दानमा जग्गा स्वीकार गर्ने पार्टीको निर्णयविरुद्ध बोलेका केन्द्रीयस्तरका नेतालाई पनि एमालेले अनुशासनविपरीतको गतिविधि गरेको भन्दै केही समयअघि स्पष्टीकरण सोधेको थियो ।
चौधरी भन्छन्– नोकरशाही केन्द्रीयता अस्वीकार्य
पार्टी निलम्बनमा परेका चौधरीले आफूमाथि नोकरशाही केन्द्रीयता लाद्ने काम भएको उल्लेख गर्दै राजाविरुद्ध संघर्ष गरेकाले पदको भिक्षा नमाग्ने जनाएका छन् । इमानदारिता र स्वाभिमान प्यारो भएकाले कसैसामु नझुक्ने, बरु घमण्ड बेलुनको हावा जसरी फुस्कने उनको भनाइ छ ।
‘स्वाभिमान र इमानदारिता प्यारो छ जुन त्याग्न सकिँदैन,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘बाँकी घमण्ड बेलुनको हावाझैं खुस्केपछि थाहा हुनेछ। नोकरशाही केन्द्रीयता अस्वीकार्य छ ।’
प्रतिक्रिया