किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा

इलाम । “अब किबी उखेलेर अलैंची नै लगाउने हो”, मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने ।
सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने उल्लेख गर्दै उनले किबीभन्दा अलैंचीबाट नै दसौँ गुणा फाइदा हुने बताए ।
उनले मकै छर्ने टार बारीमा हाल करिब २० बोट किबी रोपेका छन् । किबी र अलैँची तुलना गर्दै उनले भने, “त्यो बेला किबी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मनबढी फल्ने थियो, अहिलेको भाउमा पनि रु दुई लाखभन्दा बढी हुन्थ्यो ।’’
बीस बोट किबीबाट अहिले रु पाँच हजार पनि आम्दानी नभएको उनको भनाइ छ । इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र हैन सो क्षेत्रका अधिकांश किसानले बारीमा किबी लगाएका छन् ।
अलैँची दिने आम्दानी अन्य खेतीबाट नहुने यहाँका किसानको अनुभव छ । अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो रु एक सयदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ । तर अलैँची प्रतिकिलो रु दुई हजार आठ सयभन्दा बढीले बिक्री भइरहेको छ । अलैँचीको मूल्य हाल रु एक लाख १५ हजारसम्ममा कारोबार भइरहेको छ ।
कुनै बेला प्रतिकिलो रु छ सयमा कारोबार भएको किबी हाल बिक्रीमा समेत समस्या भइरहेको किसानको भनाइ छ । किबीमा जुन लागत छ सो अनुसारको आम्दानी नहुने गरेको किसानको भनाइ छ ।
किबीको बजारीकरणमा पनि समस्या रहेको किसान ठाकुर खतिवडाको भनाइ छ । किसान आफैँले बजारीकरण गर्नुपर्ने, मूल्य आलु बराबर मात्र पाइने गरेको उनले बताए । सुरुमा किबी गर्ने किसानले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए पनि हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा छाएको उनको अनुभव छ ।
किबीबाट सोचे जस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताए । किबीलाई फलफूलको राजा उपनाम दिइएको छ । एउटै किबीबाट धेरैवटा फलफुलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रूपमा लिइन्छ ।
प्रशोधीकरण छैन
इलामलगायत देशका पूर्वी पहाडी जिल्लामा यसको राम्रो उत्पादन सुरु भइसकेको छ । उत्पादन राम्रो भइरहे पनि प्रशोधीकरण उद्योग भने स्थापना हुन सकेका छैनन् ।
गाउँगाउँमा किबीको वाइन बनाउन थालिए पनि यसले निरन्तरता पाउन सकेको छैन । केही किसान आफैंले स्थानीयस्तरमा नै अचार बनाएर विविधीकरणको प्रयत्न नगरेका होइनन् । तर प्रशोधीकरणका लागि उद्योग स्थापना हुन नसक्दा मूल्य ओरालो लाग्दै गएको छ ।
स्वादिलो फल किबीबाट किसानले धेरै परिकार बनाउन सक्ने भए हाल पाकेको खानेबाहेक अन्य प्रयोजनमा प्रयोग नगर्ने गरेको किसान आफैं बताउँछन् । भान्सामा स्वादका लागि अचार प्रयोग हुन्छ । किबीबाट अमिलो र गुलियो स्वाद पाइने हुँदा अचार राम्रो हुन्छ । तर व्यावसायिक रूपमा अचार बनाउन पहल भइरहेको छैन ।
धेरै पोष्टिक तत्त्वले भरिपूर्ण मानिएको किबी फल नेपालको इलामसहित काभ्रे, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा खती हुँदै आएको छ । पश्चिमी जिल्लामा पछिल्लो समय इलामबाट नै विरुवा जान थालेको छ ।
किवी फलमा पाइने एक्टिनिडिन नामक इन्जाइमले पाचन प्रक्रियामा सहयोग गर्छ । यस फलको बोट रोप्दा नै भाले र पोथी प्रजाति पहिचान गरी सँगसँगै रोप्नुपर्दछ । भालेपोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुने गरेको छ ।
यसलाई हाँगा (डाँठ) र दिउलबाट थप विरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किबी फलको आम्दानी लिन सकिन्छ । पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । समुन्द्रको सतहदेखि एक हजार दुई सय मिटरदेखि दुई हजार चार सय मिटरसम्मको उचाइमा किबी फलको खेती गर्न सकिन्छ । यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ ।
इलाममा करिब कूल सात सय ८० हेक्टरमा किबी खेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले बताए । अघिल्लो वर्ष २८ सय ५२ मेट्रिकटन किबी उत्पादन भएको उनले जानकारी दिए । किबीलाई प्रशोधन गरेर जुस, जाम बनाउन सकिन्छ । जुस, जाम वा अचार बनाउन पहल गर्ने हो भने किबीलाई पुरानो मूल्यमा फर्काउन सकिने किसानको भनाइ छ । यसमा तीनै तहका सरकारको भूमिका हुने भए पनि चासो पुगेको छैन ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया