युएसएआइडी ‘अपराधी’ हो– मस्क, युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्– ट्रम्प

काठमाडौं (एजेन्सी) । अर्बपति एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीलाई ‘आपराधिक सङ्गठन’ भएको आरोप लगाएका छन् । त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एजेन्सी ‘कट्टर पागलहरूद्वारा सञ्चालित’ भएको दाबी गर्दै यसको भविष्यबारे विचार गरिरहेको बताएका छन् ।
“युएसएआइडी एक आपराधिक सङ्गठन हो,” राष्ट्रपतिको सबैभन्दा शक्तिशाली समर्थक बनेका टेस्ला र स्पेसएक्सका अर्बपति मालिक मस्कले आफ्नो एक्स प्लेटफर्ममा युएसएआइडीलाई ‘दुष्ट सिआइए काम’ मा संलग्न भएको आरोप लगाउने भिडियोको जवाफ दिँदै लेखेका छन् ।
त्यसपछिको पोस्ट्मा मस्कले कुनै प्रमाण नदिई आफ्ना २१ करोड ५० लाख एक्स फलोअर्ससँग जिज्ञासा राखेका छन्, “के तपाईंलाई थाहा छ कि युएसएआइडीले तपाईंको कर प्रयोग गरेर कोभिड–१९ लगायत जैविक हतियार अनुसन्धानलाई वित्त उपलब्ध गरायो । जसले लाखौं मानिसको ज्यान लियो ?”
उनले यी आरोपहरूबारे थप व्याख्या भने गरेनन् । यसलाई अघिल्लो प्रशासनका अधिकारीहरूले रुसी दुष्प्रचार अभियानसँग जोडेका थिए ।
“युएसएआइडी कट्टरपन्थी पागलहरूद्वारा सञ्चालित छ र हामी तिनीहरूलाई बाहिर निकाल्दै छौं । त्यसपछि हामी यसको भविष्यका बारे निर्णय गर्नेछौं,” ट्रम्पले विस्तृत विवरण नदिई आइतबार भनेका छन् ।
उनले अर्बपति मस्कको भनाइमा समर्थन जनाउँदै आइतबार राति पत्रकारहरूलाई भने, “मैले मस्कले राम्रो काम गरिरहेको महसुस गरेँ ।”
सुरुमा सबै सहायता खर्च तीन महिनाका लागि स्थगन गर्ने निर्णय गरेका ट्रम्पले पछि खाद्यान्न र अन्य मानवीय सहायता जारी राख्न निर्देशन दिएका थिए । सहायता कार्यकर्ताहरूले स्वतन्त्र एजेन्सीका रूपमा सङ्गठनको भविष्य सुनिश्चित नभएकोले अनिश्चितता छाएको बताएका छन् ।
कंग्रेसको एउटा ऐनद्वारा स्थापित स्वतन्त्र एजेन्सी युएसएआइडीले विश्वभर मानवीय राहत र विकास सहायताका लागि ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्दछ ।
प्रतिक्रिया