फस्टाउँदै व्यावसायिक माहुरीपालन

मन्थली । जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ ।
मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका छन् ।
कम लगानीमा बढि आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन् । सुख्खा ठाँउमा पनि माहुरीपालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ ।
विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुई–तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछनन् । लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्किएका रामेछाप नगरपािलका–७, सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाँउमै केही गर्ने अठोटका साथ माहुरीपालन गरेका छन् ।
अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरीपालन सहज लागेकोले आफू यस प्रति सन्तुष्ट रहेको उनको भनाइ छ । अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरको छ । एक सिजनमा एउटा घार बाट तीन केजीसम्म मह उत्पादन हुन्छ । एक वर्षमा चार पकटसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ ।
मन्थली नगरपालिका–१ का चन्द्रबहादुर मानन्धरले दुई–तीन वर्षमै माहुरीपालन विस्तार गरी २० घार बनाएका छन् । उनले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसकेका छन् । सुरुमा माहुरीपालनसम्बन्धी कुनै ज्ञान नभए पनि छोटो अवधिको तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उनले बताए ।
उनले भने, “विशेषगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो चाँडो काढ्न सकिन्छ । माहुरीको चरन क्षेत्र भनेको फुलवारी र तोरीबारी हो ।”
माहुरीपालन गर्ने कृषकले मह मात्र नभर्इ माहुरीसहितको घारसमेत बिक्री गर्ने गरेका छन् । सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा रु १० हजारसम्ममा बिक्री हुने कृषक बताउँछन् ।
मन्थलीमा सदावहार बहुद्देश्यीय सहकारी संस्थाले पनि माहुरीपालन सुरु गरेको छ । छोटो तालिम पश्चात सुरु गरेको माहुरीपालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म गाँउघरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरीपालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताए ।
उनले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आएका छन् । खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि ब्यावसायिक माहुरीपालन गरेका छन् । रूपाकोट माहुरीपालन कृषक समूहले ५३ घार एकै ठाँउमा माहुरीपालन गरेका छन् ।
खनियापानीमा मात्र पाँच सय घार माहुरीपालन गरिएको छ ।
महुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकिककरण परियोजनाले पनि विगतदेखि अनुदान स्वरूप सहयोग गर्दै आइरहेको छ । उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी सूचना अधिकारी बिनिषा श्रेष्ठले जानकारी दिइन् ।
ताजा अपडेट
-
विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
ग्लोबलआइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यास ब्याक
-
‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित
-
पाठेघर परीक्षण : महिलामा पाठेघरको मुखको क्यान्सरदेखि पाठेघर खस्ने समस्या
-
भारततर्फ सामान निर्यातको बाटो खुल्यो
प्रतिक्रिया