NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १५ गते

प्रधानमन्त्रीकै अगाडि दर्शक कुट्ने एमाले कार्यकर्तालाई सत्ताको संरक्षण

काठमाडौं ।प्रधानमन्त्री केपी ओलीकै अगाडि रंगशालाभित्र दर्शक कुट्ने एमाले कार्यकर्ताले सत्ताको संरक्षण पाएका छन् । सोमबार साँझ दशरथ रंगशालामा ‘केपी ओली कप’ फुटबलको फाइनल खेलका क्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने दर्शकमाथि जंग तामाङसहितका कार्यकर्ताले आक्रमण गरेका थिए । सुरक्षामा खटिएको प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गर्न सक्थ्यो । तर, स्पष्ट चिनिने गरी सामाजिक सञ्जालमा कुटपिटका भिडियो ‘भाइरल’ हुँदासम्म पनि ‘उजुरी नआएको’ भन्दै उल्टै संरक्षण दिएको छ । कुटपिटमा संलग्न सिन्धुपाल्चोक घर भएका तामाङ युवा संघमा आबद्ध छन् ।

सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्री, मन्त्री, दलका नेता वा उच्चपदस्थमाथि नागरिकले असन्तुष्टि प्रकट गरेको यो नै पहिलो होइन । विगतमा पनि यस्ता नाराबाजी भएका थिए । यस्तो अवस्थामा सुरक्षामा खटिएका प्रहरीले परिस्थिति शान्त पार्न सक्छन् । तर, सोमबार युवा संघका दुई युवकले दर्शकमाथि मुक्का हानिरहँदा सुरक्षामा खटिएका सुरक्षाकर्मी उल्टै मुक्का खानेमाथि नै खनिएको सार्वजनिक भिडियोमा देखिन्छ । घटनास्थलमा रहेका प्रहरीले कुटपिटमा संलग्न युवा संघका कार्यकर्तालाई पक्राउ गर्नुको सट्टा कुटाई खानेलाई प्यारापिटबाट हटाई युवा संघकै कार्यकर्तालाई जिम्मा लगाइदिएका थिए । त्यसपछि युवा संघका कार्यकर्ताले ती युवकलाई रंगशालाबाट बाहिर निकालेका थिए ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहरा रंगशालामा भएको कुटपिटका सम्बन्धमा सामाजिक सञ्जालमा भाइरल भिडियो भेरिफाई गर्ने काम भइरहेको बताउँछन् । ‘रंगशालामा खिचिएको एउटा भिडियो भाइरल भएको रहेछ । भिडियोबारे प्रहरीलाई नोटिस छ । अहिले भिडियो भेरिफाई गर्ने काम भइरहेको छ,’ उनले भने, ‘हालसम्म कसैको आधिकारिक उजुरी पनि आएको छैन । प्रहरीले थप छानबिन पनि गरेको छैन ।’

युवा संघका उपाध्यक्ष महाराज गुरुङले भने रंगशालामा कुटपिट गर्ने व्यक्तिहरू युवा संघका कार्यकर्ता नरहेको दाबी गरेका छन् । उनीहरू एमाले समर्थक भएको र घटनालाई पनि सामान्य रूपमा लिएको उनले बताए । ‘युवा संघका कार्यकर्ताले दर्शक कुटपिट गरेको छैन । भिडियोमा देखिएका युवा एमाले समर्थक हुन्,’ उनले भने, ‘सोमबार केहीबेर भनाभन मात्रै भएको हो । पाँचैँ मिनेटमा समस्या समाधान भयो । यो घटनालाई हामीले सामान्य ढंगले नै लिएका छौँ ।’

खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला प्रवेश गरेलगत्तै नाराबाजीमा उत्रिएका दर्शकमाथि कुटपिट भएको थियो, नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष