प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेश पराजित

भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोशी प्रदेशलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
जारी प्रतियोगितामा मधेसको यो पहिलो जित हो भने कोशीको यो दोस्रो हार हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनायो । दुई सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा कोशी प्रदेशको पारी ३३ ओभरमा ११९ रनमा समेटियो ।
मधेस प्रदेशका लागि कप्तान अनिल साह, पवन सर्राफ र दीपेश दासले उत्कृष्ट खेल प्रदर्शन गरे । तीनै जनाले अद्र्धशतकीय पारी खेले । अनिलले ७५ बलमा १० चौकाको मद्दतमा ७५ रन बनाए । यस्तै पवनले ८५ बलको सामना गर्दै दुई छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए । दीपेशले ६० बल खेल्दै एक छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान दिए । हरिशङ्कर साहले २९ रन बनाए ।
बलिङतर्फ कोशी प्रदेशका प्रकाश कार्की र विपिन महतोले दुई दुई तथा फिरदोस अन्सारी र दीपेश कँडेलले एक विकेट लिए । बयानब्बे रन बनाएका पवन खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।
यसैगरी कोशीका लागि ब्याटिङ गर्ने क्रममा साकिब हकले २५, सुजन थपलियले २४, फिर्दोश अन्सारीले २१ र दीपेश कँडेलले २० रन बनाए । बलिङतर्फ मधेस प्रदेशका रुपेश सिंह एक्लैले ५ विकेट लिए । यस्तै राजेश यादवले तीन तथा हरिशङ्कर साह र प्रदीप पासवानले एक एक विकेट लिए । सिद्धार्थ क्रिकेट रङ्गशालामा बुधबार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।
ताजा अपडेट
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
-
चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने
-
सुस्ता झोलुङ्गे पुल जोखिममा
-
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र
प्रतिक्रिया