NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २४ गते

सामुदायिक वनले जन्माएको उद्यमी

हेटौंडा । बिहान–बेलुका भान्छामा तथा दिउँसो काठका सामग्रीको थुप्रोमा पसिना बगाइरहेको भेटिने हेटौंडा–५ राईटोलकी विष्णुकुमारी राईलाई काठको धुलो र समाजमा उद्यमी भनेर बोलाउने शब्द नै गहना हो जस्तो लाग्छ । उनलाई भेट्न जानेले सजावट के हो भनेर सोध्यो भने उनको जवाफ हुन्छ– “हेर्नुस् त यो काठको बुट्टा, यही नै मेरो सजावट र शृङ्गार हो ।”

हाम्रो समाजमा पुरुषले र महिलाले गर्ने काम अलगअलग हुन्छ भन्ने मान्यता छ । समाज परिवर्तन भइरेहेको भए पनि भारी उचाल्ने र काठको काम भने प्रायः पुरुषले नै गर्नुपर्छ वा गर्न सक्छन् भन्ने सबैलाई लाग्छ । यद्यपि, सङ्घर्ष गरेर यस्ता मान्यतालाई चिर्ने महिलाहरूले सफलताको गाथा रच्न सफल र सक्षम भएका छन् ।

विष्णुकुमारीलाई उद्यमी बन्नका लागि न त लगानी चाहियो, न आफ्नो जग्गा नै । उनको इच्छाशक्ति र सामुदायिक वनको अभियानले उनलाई उद्यमी बन्न सहयोग पुगेको उनी बताउँछिन् ।

पिप्लेपोखरा सामुदायिक वन समूहमा बसेर उनले ११ वर्ष अगाडि सुरु गरेको काष्ट हस्तकलाले यतिबेला उनलाई उद्यमीको पहिचान दिइरहेको छ । बिहान झिसमिसेमा उठी घरधन्दा सकेर उनी काम सुरु गर्छिन् ।

घरधन्दाबाहेक उनको काम हो– काठमा सुन्दर बुट्टा कुँदेर विभिन्न खालका आकार निर्माण गर्नु । यस काममा उनी अब्बल छिन् । उनी काठको मुडा पल्टाउने, चिर्ने तथा विभिन्न आकार दिने गर्छिन् ।

करिब १२ वर्ष अगाडिसम्म विष्णुकुमारीलाई महिला भनेको पुरुषको कमाइ खाएर घरधन्दा गर्ने हो जस्तो लाग्थ्यो । उनी भन्छिन्, “मलाई त पहिलापहिला चुराधागो किन्न पनि श्रीमानसँग हात फैलाउनुपर्ने, धेरै मागे बचन सुन्नुपर्ने हुन्थ्यो, अहिले भने आनन्द छ, उल्टै सापट दिनसक्ने बनेकी छु,” उनी भन्छिन्, “त्यतिबेलाको समय मेरो काम भनेको पिप्ले पोखरा सामुदायिक वनबाट घाँसदाउरा बोक्ने, सोत्तर ल्याउने, अनि गाईवस्तु र बच्चाको स्याहार गर्ने थियो ।”

विष्णुकुमारीलाई आफूले काठको काम सुरु गर्दासम्म छिमेकीहरूले काठको काम गर्ने भनेर अलि हेपेजस्तो गर्थे । अहिले उनीहरू नै उक्त काममा जोडिन थालेको उनी बताउँछिन् ।

सामुदायिक वन भनेको घाँस दाउराको स्रोत मात्र मान्ने विष्णुकुमारीलाई जीवन धान्ने आधार बनेको छ । अहिले सामुदायिक वनले हरित रोजगारी अर्थात् वनबाट आम्दानीको मुद्दा उठाएर कार्यान्वयन गरेपछि भने उनको सोचाइ मात्र होइन जीवन नै परिवर्तन भएको छ।

घाँसदाउरासँगै अहिले उनी काठका मुढा पनि बनाउँछिन् । उनको प्राथमिकतामा नै काठका मुढा तथा फलेक पर्ने गर्छन् । सुरुआतमा त उनलाई महिलाले पनि काठको काम गर्न सक्छन् भन्ने विश्वास थिएन । तर समूहका महिलालाई वनबाट उद्यमी बनाउन तालिम हुँदैछ भन्ने जनाकारी पाएपछि विष्णुकुमारीलाई त्यतातर्फ डो–यायो ।

‘अस्मिता नेपाल’को सामग्रीसहितको सहयोग र पिप्लेपोखरा सामुदायिक वनको ‘वनमा आधारित उद्यम विकास’ योजनामा काठको सामग्री निर्माण गरिरहेकी विष्णुकुमारीलाई बीचमा सामग्री बिक्री नहुँदा दिक्क लागेर काम नै छोडौं कि जस्तो लागेको थियो । उनका अनुसार फेरि ग्रिन फाउन्डेसन नेपालले टिएफसँगको सहकार्यमा सामुदायिक वन अधिकार सुनिश्चतता परियोजनाअन्तर्गत गरेको सहयोगले काममा ऊर्जा र निरन्तरता कायम गरिदियो । उक्त परियोजनामा भइरहेको सहयोगका कारण विष्णुकुमारीलाई काम थप्न र मूल्य निर्धारण गरेर बजारसम्म लैजान सहयोग मिलेको छ ।

“साथीहरूको लहैलहैमा लिएको तालिमले यतिसम्म बनाउँला भन्ने सपनामा पनि सोचेकी थिइनँ, तर जुन काममा एकदमै लगाव हुन्छ, त्यसले ढिलोचाँडो सफल बनाउँछ भन्ने अनुभव भयो,” विष्णुकुमारी भन्छिन् ।

तालिमपछि उनले काष्ठ हस्तकलामा नै अघि बढ्ने निधो गरिन् । पछिल्लो समय विष्णुकुमारीको समूहले काष्ठ हस्तकलाका सामग्रीबाट राम्रै आम्दानी गर्न थालेको उनको भनाइ छ ।

‘श्रमजीवी महिला काष्ठ हस्तकला लघुउद्यम’ सञ्चालन गरेर समूहमै सामग्री उत्पादन गरी राम्रो आयआर्जन गर्न थालेको उनी बताउँछिन् ।

‘‘एकले थुकी सुकी, हजारले थुकी नदी’ भन्ने त उखानै छ । त्यसैले पनि हामी समूहमै काम गरी आम्दानी गरिरहेका छौं,’’ उनले भनिन् ।

अहिले उनीहरूले जङ्गलमा खेर गइरहेका विभिन्न प्रकारका काठबाट काष्ठ हस्तकलाका सामग्री बनाउँदै आइरहेही छन् । त्यस्ता कच्चा पदार्थको प्रयोग गरेर उनीहरूले विभिन्न प्रकारका काठबाट कुँदिएका ढोका, फोटोफ्रेम, घण्टी फ्रेम, उपहार दिनका लागि उपयोगी हुने स–साना काठबाट निर्मित सामग्रीसँगै बक्स पलङहरूका लागि पनि बुटा बनाउने काम विष्णुकुमारीको यतिबेलाको रोजगारी हो ।

यसरी बनाइएका ती सामग्री रु पाँच सयदेखि रु ४० हजारसम्ममा बिक्री गरिरहेको विष्णुकुमारी बताउँछिन् । यीमध्ये फोटो फ्रेम र ऐना राख्नका लागि निर्माण गरिएका फ्रेम र श्रमजीवी महिला काष्ठ हस्तकला लघुउद्यमका विशेषता हुन् । एक दिनमा एक जनाले पाँच वटा फोटोफ्रेम तयार गर्ने गरेको उनको अनुभव छ । काष्ठ हस्तकला सामान बनाएर बिक्री गरेर पनि मनग्य आम्दानी हुने उनी बताउँछिन् ।

९ दिदीबहिनी मिलेर श्रमजीवी महिला काष्ठ हस्तकला लघुउद्यममा दर्ता गरी काम सुरु गरेका उनीहरूले अहिले एक महिनामा रु २० हजारदेखि रु २५ हजारसम्म तलब बुझ्ने गरेका छन् । विभिन्न मेला महोत्सवमा पनि आफूहरू जाने गरेको विष्णुकुमारीको भनाइ छ । घरमा प्रयोग गर्न र घर सजावट गर्न पनि काष्ठ हस्तकलाका सामानको माग बढी हुने हुँदा आफूले गरिरहेको कामका लागि प्रशिक्षकका लागि अवसर आयो भने तालिम दिन सक्ने क्षमता आफूमा भएको उनी बताउँछिन् ।

समूहले उत्पादन गरेको काष्ठ हस्तकलाका सामग्री विभिन्न सङ्घसंस्थालगायत कोसेली घर काठमाडौं तथा देशका विभिन्न ठाउँमा बिक्रीका लागि लैजाने गरेका विष्णुकुमारीले जानकारी दिइन् ।

समुदायमा काठको काम गर्ने महिला मुस्किलले भेटिन्छन् भन्नेहरूका लागि विष्णुकुमारी एउटा गतिलो उदाहरण बनेकी छन् । आफूलाई यो अवस्थामा पु–याउने मात्र नभएर हालसम्म पनि कच्चा पदार्थसम्म पिप्लेपोखरा सामुदायिक वनले उपलब्ध गराउँदै आएको र बजारीकरणको समस्या समाधानका लागि ग्रिन फाउन्डेसनको सहयोगले थप बल पुगेको विष्णुकुमारी बताउँछिन् । रासस

ताजा अपडेट

नेपालवाच विशेष