NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २३ गते

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजको पोल्टामा

झापा । पाँचौं मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो ।

जितसँगै चर्च ब्वाइजले नगद रु १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले नगद रु पाँच लाख प्राप्त गरेको छ ।

खेलको ११औं मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित भए । उनले नगद रु ११ हजार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका खमिर गिल्सन कन्दङ्वा घोषित भए । उनले नगद रु ५१ हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक हुन् ।

उनीहरूले जनही नगद रु २५ हजार र ट्रफ्री पाए ।

उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठले नगद रु २१ हजारबाट पुरस्कृत हुँदा प्रतियोगिताका उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै टिकेन्द्र थापाले नगद रु २१ हजार प्राप्त गरे ।

त्यसैगरी, दिवस उराउले उत्कृष्ट डिफेन्स, पर्शु र्राइले उदीयमान खेलाडीको पुरस्कार जिते । उनीहरूलाई क्रमशः २१ हजार र १५ हजार रूपैयाँ नगदबाट पुरस्कृत गरिएको आयोजकले जनाएका छन् ।

फागनु २४ गतेदेखि सुरू प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपिएफ एफसी, जर्जियन फुटबल क्लब भारत र उज्वेकिस्तानको ब्ल्याक बुल्स सहभागी रहेका थिए ।

यसैबीच, सोही समारोहमा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको थियो । सो अवसरमा सङ्गीता राउत, सन्देश श्रेष्ठ, नरोत्तम गौतम, लुना प्रधान, लीला थापालगायतलाई पनि पुरस्कृत गरियो ।