जिम्मेवारी छाडेर १६ प्रहरी सम्पर्कविहीन
काठमाडौं । आफू कार्यरत कार्यालयमा जानकारी नगराइ सम्पर्कविहीन बनेका १६ प्रहरी सहायक हवलदार र जवानविरुद्ध प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रहरी नियमावली, २०७१ मा अनुमतिबिना ९० दिनभन्दा बढी गैरहाजिर रहने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ नआए पदबाट हटाउन सकिने व्यवस्था छ । प्रधान कार्यालयले यसअघि गैरहाजिर रहेकालाई सूचना टाँस गरेर सम्पर्कमा आउन निर्देशन दिएकोमा त्यसको अटेरी गरेपछि सातदिने स्पष्टीकरण सोधिएको हो ।
बिनाजानकारी सम्पर्कविहीन हुनेहरूमा दुई प्रहरी सहायक हवलदार, १२ प्रहरी जवान र दुई प्रहरी कार्यालय सहयोगी छन् ।
लामो समयदेखि बिनाजानकारी गैरहाजिर रहेका सहायक प्रहरी हवल्दार र प्रहरी जवान गरी १६ जनालाई स्पष्टीकरणसहित आफू कार्यरत कार्यालयमा हाजिर हुन बोलाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्पष्टीकरण सोधिएकाहरूमा प्रहरी सहायक हवल्दार कृष्ण कार्की, यमप्रकाश केसी, प्रहर जवानहरू वेशबहादुर राई, प्रेम पौडेल, सुजन लिम्बू, कुलजङ्ग बस्नेत, सुमन तामाङ, निकेश थापा र अर्जुनकुमार दास छन् । त्यसैगरी, प्रहरी जवान बीना तामाङ, ताराबहादुर श्रेष्ठ, सुजन कुँवर, सुरज थापा क्षेत्री, सन्दीप परियार, प्रहरी कार्यालय सहयोगी विवेक लिम्बू र सुनिल पुजारीलाई पनि गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित उपस्थित हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
निर्धारित समयमा चित्तबुझ्दो कारणसहित स्पष्टीकरण पेश नगरे उनीहरू सबैलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ । प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) मा कुनै पनि प्रहरी कर्मचारी बिना जानकारी ९० दिनभन्दा बढी समय गैरहाजिर रहेमा सेवाबाट हटाउन सकिने प्रावधान छ ।
सुरक्षा निकायहरूमा पछिल्लो समय अवकाश हुनु अगाडि नै सेवा छाड्ने क्रम बढ्दै गएको छ । न्यून वेतन, अवकाशको उमेर, सुरक्षा निकायमा काम गरेकाले वैदेशिक रोजगारीमा पाउने अवसरजस्ता कारणले बीचमै जागिर छाड्ने सिलसिला बढे पनि सरकारले त्यसको सम्बोधन गर्न सकेको छैन । जसका कारण यी जनशक्ति तयार पार्न राज्यले गरेको लगानी खेर गइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया