बल्खुमा आज राप्रपाको प्रदर्शन, सुरक्षा व्यवस्था कडा, सवारी डाइभर्सन गरिने

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खु क्षेत्रमा मंगलबार राजतन्त्र र हिन्दू राज्यको माग गर्दै प्रदर्शन गर्ने भएको छ ।
राप्रपाले प्रशासनको अनुमति लिएर मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शन गर्न लागेको हो । यसअघि राप्रपाले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा कार्यक्रम गर्न दिन अनुरोध गरेकोमा प्रशासनले सुरक्षाको कारण दर्शाउँदै सिफल वा बल्खुमध्ये एक ठाउँमा गर्न अनुमति दिएको थियो ।
बिहान ११ बजे कलंकी, कालीमाटी, सातदोबाटो, कीर्तिपुरलगायत स्थानबाट सो पार्टीले जुलुस निकाल्ने तय गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विभिन्न स्थानबाट निस्किने जुलुस अपराह्न १२ बजे सभामा परिणत हुने जानकारी दिए ।
उनका अनुसार, शान्तिपूर्ण सभालाई राप्रपा अध्यक्ष लिङ्देनलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
राप्रपाले सभालाई व्यवस्थित र मर्यादित बनाउन स्वयंसेवक समेत परिचालन गर्दैछ । कार्यक्रममा कतैबाट घुसपैठ भएको खण्डमा नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसअघि चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा काठमाडौं कोटेश्वरमा भएको प्रदर्शनले हिंसात्मक लय पक्डँदा दुई जनाको ज्यान जानुका साथै करोडौंको निजी तथा सरकारी सम्पत्तिमा क्षति पुगेको थियो । राप्रपाले उक्त घटनाबाट पाठ सिकेर सावधानी अपनाइने जनाएको छ ।
सरकारले राप्रपाको कार्यक्रममा २ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । कार्यक्रमको निगरानी तथा नियन्त्रणका लागि उक्त संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गर्न लागेको हो ।
राप्रपाको उक्त प्रदर्शनले बल्खु आसपासको क्षेत्रको सवारी आवागमन प्रभावित हुनेछ । यसैलाई मध्यनजर गरेर सवारी डाइभर्सनको व्यवस्था मिलाइएको छ ।
ट्राफिक प्रहरीका अनुसार, खसीबजार–मकालु–कलंकी चोक–बाफललाई डाइभर्सनको एउटा रुट बनाइएको छ । त्यस्तै, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकु भएर पनि सवारीसाधनलाई आउजाउ गर्ने व्यवस्था मिलाइएको छ । कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ ।
त्यस्तै, प्रहरीले त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सितापाइला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ पनि आवश्यक परेको खण्डमा सवारी डाइभर्सन गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया